शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ असार २९ गते शनिबार को राशिफल र मौसम

शनिवार , आषाढ ३०, २०८१

बि.सं.२०८१ असार २९ गते शनिबार ई.सं.२०२४ जुलाई १३ नेपाल सम्बत ११४४ दिल्लाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: १७ बजे, सूर्यास्त साँझ ०७: ०२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०० मिनेट देखि ०८ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहाेला। आफन्तको साथ सहयोग जुट्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– किनमेल र यात्रामा अधिक खर्च हुने समय छ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। नयाँ काम थालनी गर्न सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, कर्तव्यपरायण रहनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला। योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया