सिन्धुली – सिन्धुलीमा सवारी साधनले बढी भाडा लिने गरेको गुनासो बढेको छ । चाडपर्वको मौकामा सार्वजनिक सवारी साधनले तीन गुणा भन्दा बढी भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका हुन् । कमलामाई नगरपालिका ४ की चिनामायाँ कुवर असोज ४ गते काठमाडौँबाट सिन्धुलीसम्म आउँदा १५ सय भाडा तिरेको बताउनुहुन्छ । “मैले काठमाडौँबाट सिन्धुलीसम्म आउँदा १५ सय भाडा तिरे, दशैँको समय हो भन्दै बढी भाडा लियो । भाडा नदिए बाटो मै झर्न भन्दै धम्कायो पनि,” उहाँले भन्नुभयो । काठमाडौँबाट सिन्धुलीसम्मको चालु भाडा रेट आठ सय रुपैया रहेको एक सवारी चालकले बताए । “काठमाडौँबाट सिन्धुली सम्म आठ सय रुपैया भाडा लिरहेका छौँ । अरु समयमा आठ सय देखि ७ सय सम्ममा लिने गर्दछौँ । अहिले दशैँको समय भएकाले बढी भाडा लिएका होला,” उनले भने ।
कमलामाई नगरपालिका ६ की सान्ति सुनुवारले काठमाडौँबाट सिन्धुलीसम्म आउँदा १ हजार रुपैया तिरेको सुनाउनुहुन्छ । “मैले पनि काठमाडौँबाट आउँदा एक हजार तिरेको हुँ । गाडि नपाउने भएपछि बढी भाडा तिरेर घर आएको हो ,” उहाँले भन्नुभयो ।
कमलामाई नगरपालिका ६ मा बस्दै आउनुभएको तिनपाटन गाउँपालिका ११ लाम्पान्टारका सुबास न्यौपाने सिन्धुलीमाढीबाट तिनपाटन सम्म पुगेको ६ सय रुपैया तिरेको गुनासो गर्नुहुन्छ । “गाडि नपाउने र पाएपनि बढी भाडा तिर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यति पैसा तिरेन भने गाडि नै पाउँदैन , दशैँको बेला भन्दै बढी भाडा लिन्छन् ,” उहाँले भन्नुभयो । यात्रुहरु बढि भाडा तिर्न बाध्य छन् । दशैँमा घर फर्किनै पर्ने र दशैँ सकिएपछि कर्मथलो नगई नहुने भएपछि यात्रुको चाप बढ्ने बेला यातायात व्यवसायीले ‘जाल’ मा पार्ने गरेको यात्रुहरु बताउँछन् । सिन्धुलीका विभिन्न चेकप्वोइन्टमा प्रहरीले भाडा दर कति तिर्नु भयोे ? भनेर प्रश्न गरेपनि वास्तविकता बताउँदा सवारी चालकले दुव्र्यवहार गर्ने पो कि वा गन्तव्यसम्म पुगिदैँन कि भन्ने डर रहेको कमलामाई नगरपालिका ५ कि जानुका थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिकटमा आठ सयनै मूल्य छ । तर, नगद १५ सय तिरेर सिन्धुली आए ।’
हाल दशैँ सकिएको छ । दशैँ मनाएर कर्मथलो फर्किनेको संख्या बढेको छ । यसै मौकामा सवारी साधनले यात्रुसँग बढी भाडा लिने गरेका छन् । तीन गुणा बढी भाडा तिरेर यात्रु यात्रा गर्न बाध्य भएको गुनासो गर्छन् । बढी भाडा लिने सवारीलाई कारबाही नगर्दा मनपरि भाडा असुल्ने गरेको एक स्थानिय बताउँछन् । “बढी भाडा लिने सवारीलाई प्रहरीले पनि कारबाही गर्दैनन् । यात्रुले बढी भाडा लिएको गुनासो गर्दा यात्रुलाई बिच बाटो मै छोड्दिने सवारी चालकले धम्कि समेत दिरहेका हुन्छन् ,” उहाँले भन्नुभयो । सवारी साधनले यात्रुसँग बढी भाडा लिएको प्रहरीले जानकारी पाएपनि कारबाही नगरेको स्थानियको आरोप छ । सिन्धुलीकै सिमानासँग जोडिएको जिल्लामा बढि भाडा असुल्नेलाई कार्वाही गरितापनि सिन्धुलीमा भने प्रहरी निरिह हुनुमा कहि न कतै मिलेमत्तो रहेको स्थानियले शंका गरेका छन् । एक स्थानियले भने, ‘प्रहरीले त गैरकानुनि काम गर्दै गर, म नदेखेको झैँ गर्छु भन्ने प्रवृद्धि देखायो ।’ जिल्लामा हाल सम्म प्रहरीले बढी भाडा लिने दुई वटा सवारीबाट भाडा फिर्ता गराएको बताएको छ । विपि राजमार्ग अन्र्तगत सुनकोशी गाउँपालिका २ दुम्जामा इलेक्ट्रिक भ्यान र बसले बढी भाडा लिएको फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक चिरञ्जिवि दाहालले बताउनुभयो । उहाँका अनुसार भ्यान र बसबाट तिन सय बढी भाडा फिर्ता गर्न लगाइएको हो । आइतबार भिमानमा बढी भाडा लिने सवारी साधनबाट भाडा फिर्ता गर्न लगाइएको उहाँले बताउनुभयो । बढी भाडा लिने गरेको यात्रुले जानकारी नदिएको कारण कारबाही गर्न समस्या भएको प्रनाउ दाहालले बताउनुभयो ।