सिन्धुली– सिन्धुलीमा शुक्रबार भरुवा बन्दुकको गोली लागेर एकजना घाइते भएका छन् । प्रहरी श्रोतका अनुसार सुनकोशी गाउँपालिकाका लाल बहादुर श्रेष्ठको बायाँ घुँडामा गोली लागेको हो । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित धोबिखोलामा भरुवा बन्दुकको गोली लागेर श्रेष्ठ घाइते हुनुभएको हो ।
घरबाट ५० मिटर–दक्षिण तर्फपर्ने आफ्नै बारीमा घाँस काट्न जानुभएका श्रेष्ठको बाँया घुँडामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले बताउनुभयो । घाँस काट्ने क्रममा एक्कासी केहि पड्कीएको आवाज सुनेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । घाइते श्रेष्ठलाई स्थानियले एम्बुलेन्स बोलाएर धुलिखेल अस्पताल लगेका थिए । अस्पताल पु¥याएपछि चिकित्सकले प्रहरीको मामला ‘पुलिस केश’ भएको भन्दै प्रहरीलाई खबर गरेपछि सिन्धुली प्रहरीले उक्त घट्नाको जानकारी पाएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त घट्नाको जानकारी पाए लगत्तै शनिबार ईलाका प्रहरी कार्यालय खुर्कोटबाट सहायक निरिक्षकको कमाण्डमा प्रहरी टोलीलाई सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित धोबिखोलामा थप अनुसन्धानको लागि पठाएको थियो ।
अनुसन्धानका क्रममा सोहि ठाउँबाट ‘सन्तु’ भन्ने इन्द्र बहादुर तामाङको घरबाट ५० मिटर पर उनकै बारीमा मकैको ढोडको थुप्रोभित्र लुकाई छिपाई राखेको अवस्थामा काठ र फलामबाट बनेको एउटा एकनाले भरुवा बन्दुक फेला परेको प्रवक्ता डिएसपि दाहालले जानकारी दिनुभयो । साथै, श्रेष्ठ घाइते भएको घट्नास्थलबाट सात सय मिटर पर सरकारी वनमा निलो रङको प्लास्टिकले बेरेर राखिएको बेवारिसे अवस्थामा काठ र फलामबाट बनेको अर्को एउटा एकनाले भरुवा बन्दुकपनि फेला परेको दाहालले बताउनुभयो ।
दुईवटै बन्दुक बरामद गरी ईलाका प्रहरी कार्यालय खुर्कोटमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको दाहालले बताउनुभयो ।