शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० वैशाख ४ गते सोमबारको राशिफल र मौसम

सोमवार , बैशाख ४, २०८०

बि.सं. २०८० वैशाख ४ गते सोमबार ई.सं.२०२३ अप्रिल १७ नेपाल सम्बत ११४३ चौलागा द्वदशी, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण द्वदशी, चन्द्रमा कुम्भ राशिमा पुर्वभाद्र नक्षत्र, ब्रम्हा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५: ३७ बजे, सूर्यास्त साँझ ६: २९ बजे हुनेछ । आज जन्म लिने बच्चा कु्म्भ राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३७ मिनेट देखि बिहान ०७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोम प्रदोष व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । हाँकेरताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । धार्मिकरसामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । काममा दिलचस्पी देखिंदैन, बरु दूरगामी भविष्यको चिन्तनमा समय बिताउन सक्नुहुन्छ । तर पनि अचानक नसोचेको धन प्राप्त हुनसक्छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ । कार्यक्षेत्रमा पनि राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन हो । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । पूणर्रूपेण तन्मय भएर काममा खट्ने दिन हो, तर आजको थकित दिन पनि साँझमा एउटा रोमान्टिक पलका रूपमा परिणत हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।

तपाईको दिन शुभ रहोस् ।

२०८० वैशाख ४ गते सोमबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ।

सोमबार दिउँसो : – देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

सोमबार राती :– देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया