शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ माघ २८ गते शनिवारको राशिफल र मौसम

शुक्रवार , माघ २७, २०७९

बि.सं. २०७९ माघ २८ गते शनिवार ई.सं.२०२३ फेब्रुअरी ११ नेपाल सम्बत ११४३ सिल्लागा पञ्चमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कुष्ण षष्टी, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, शूल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६: ४४ बजे, सूर्यास्त साँझ ५: ५२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०७ मिनेट देखि ०९ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर, विवादास्पद क्षेत्रमा हात हाल्नाले केही समस्या पनि आउन सक्छन्। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। प्रेम र दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। काममा साथीभाइको सहयोग जुट्नेछ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। विश्वासपात्रले समेत धाेका दिनेछन्। योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। लेनदेनकाे हिसाबमा होसियार रहनुहोला। ठूलाे उपलब्धि नभए पनि पहिलेकाे साख जाेगाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– गोप्यता बाहिरिनाले समस्या आउला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। नयाँ काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। नियमित काम भने बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– सानाे कमजाेरीले विवाद निम्त्याउन सक्छ। आलोचकहरूले दुःख दिनेछन्। व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला। काम राेकिने सम्भावना देखिएकाले याेजना गोप्य राखेर अघि बढ्नुहोला। सद्व्यवहारले समस्या टर्न सक्छ। मिहिनेतले आँटेको काम बन्नेछ। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। सोखले खर्चको मात्रा भने बढाउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– माइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। समाजमा आफ्नो प्रभाव पनि बढ्ने समय छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले भने साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर लक्ष्यमा पुग्न समय लाग्नेछ। राम्रै मूल्य प्राप्त भए पनि मेहनतको फलमाथि अरूले समेत दाबी गर्न सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– परिस्थितिवश चिताएको काम रोकिन सक्छ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि उपलब्धि थोरै देखिनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको लाभांश भने पाइनेछ।

तपाईको दिन शुभ रहोस् ।

२०७९ माघ २८ गते शनिवार को मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार

शनिवार दिउँसो : – प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राती :– प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया