बि.सं. २०७९ माघ १६ गते सोमवार ई.सं.२०२३ जनवरी ३० नेपाल सम्बत ११४३ सिल्लाथ्व नवमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सुर्योदय बिहान ६: ५२ बजे, सूर्यास्त साँझ ५: ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज शहीत दिवस परेकोले हाम्रा शहीतहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । ज्ञानविज्ञानका विषयमा भन्दा पनि आज धनसम्पत्तितर्फ आकर्षण रहने समय हो । मिठो बोलीको प्रयोग गरेर कुनै महत्वपूर्णकाम बनाउन सक्नुहुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ । पिता वा पितृतुल्य व्यक्तिको सल्लाह वा सुझावको अम्मल गरी अघि बढेमा फाइदा हुनेछ । गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । कुनै काम त्यस्ता हुन्छ जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लङटुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय हो, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तरसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । प्रतिद्वन्द्वीले हार खानेछ । मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ माघ १६ गते सोमवारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
सोमवार दिउँसो : – सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
सोमवार राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।