बि.सं. २०७९ पुस २९ गते शुक्रबार ई.सं.२०२३ जनवरी १३ नेपाल सम्बत ११४३ पोहेलागा षष्ठी, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा उत्तर फाल्गुनी नक्षत्र, शोभन योग, वणिज करण । नेपालमा सुर्योदय बिहान ६: ५६ बजे, सूर्यास्त साँझ ५: २९ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर १५ मिनेट देखि ०९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज राष्ट्रिय भाक्का दिवस परेकोले सम्पूर्णलाई शुभकामना छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। व्यापारमा लाभ हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- अवसर प्राप्त भए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। गोप्य सूचना बाहिरिन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्य प्राप्त गर्न मुस्किल पर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो कामको जग बसाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- व्यस्तता बढ्नाले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोगले जिम्मेवारी दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न बाेली–व्यवहारमा सजग रहनुपर्ला। काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ पुस २९ गते शुक्रबार मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।
शुक्रबार दिउँसो : – सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राती :– सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।