बि.सं. २०७९ मंसिर १६ शुक्रबार ई.सं.२०२२ डिसेम्बर २ नेपाल सम्बत ११४२ थिंलाथ्व नवमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल नवमी ,तिथि चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, वज्र योग, तैतल करण । नेपालमा सुर्योदय बिहान ६: ३७ बजे, सूर्यास्त साँझ ५: ८ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५६ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) :- मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) :- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) :- प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो काम गर्ने समय छ। व्यापारमा मनग्य लाभ हुनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) :- समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) :- आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर, विवादास्पद क्षेत्रमा हात हाल्नाले केही समस्या पनि आउन सक्छन्। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। प्रेम र दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। काममा साथीभाइको सहयोग जुट्नेछ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) :- रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) :- लगनशीलताले काममा फाइदा दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। साथ दिनेहरू बढ्नेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिनेछन्। बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला। हडबडीले काम बिग्रन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन्।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) :- प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) :- अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ मंसिर १६ गते शुक्रवारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रवार दिउँसो : – सुदूरपश्चिम प्रदेश लगाएत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रवार राती :– सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।