बि.सं. २०७९ मंसिर २ गते शुक्रबार ई.सं.२०२२ नोवेम्बर १८ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा सिंह राशिफल र्पुव फागुनि नक्षत्र, वैधृति योग, गर करण । नेपालमा सुर्योदय बिहान ६: २६ बजे, सूर्यास्त साँझ ५: १० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ४७ मिनेट देखि ९ बजेर ७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बलजफ्तीले परिस्थिति बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पछि दु:ख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। आफ्नैबाट धोका हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– बलजफ्ती गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफूलाई समस्या पर्दा साथीभाइले समेत वास्ता गर्न छाड्नेछन्। प्रयत्न गर्दा पछि यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर परिस्थितिवश अधिक खर्च हुनेछ। काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। आजकाे लाभांश सञ्चय नहुन सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ मंसिर २ गते शुक्रबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार
शुक्रबार दिउँसो :– प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
शुक्रबार राती :– प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।