शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कसरी थापा बने सिन्धुलीकै सर्वोत्कृष्ट प्रहरी ?

सोमवार , भाद्र २०, २०७९

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गरेको मूल्यांकनमा प्रहरी सहायक निरीक्षक प्रकाश राज थापा उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । सिन्धुली प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा थापालाई श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । श्रावण महिनाको विभिन्न मितिमा गरी सात जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागुऔषध र अवैध युरिया मलसहित मानिस पक्राउ गरेकाले उहाँलाई सर्वोत्कृष्ट घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत थापाको नेतृत्वमा बैकिङ कसुर मुद्धा लगायत बिभिन्न मुद्धाका ७ जना फरार अपराधीहरूलाई बिभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरेको थियो । साथै, थापाको नेतृत्वमा कमलामाई नगरपालिका ७ बुद्धनगर चौकबाट सप्तरीको अग्निसाय गाउँपालिका ४ नम्बर वडाका २१ वर्षिया राजेन्द्र प्रसाद मण्डल ३७ ग्राम ३०० मिलिग्राम गाँजा र १४० ग्राम चरेशसहित पक्राउ परेका थिए । त्यस्तै, ना ६ ख ६२१९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा अवैध रुपमा लोड गरी ल्याएको युरिया मल १२० बोरा बरामद गरी चालक सहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विभिन्न प्रकारका घटनाहरुमा संलग्नहरुलाई पक्राउ गर्न सक्रिय रुपमा खटिई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा कार्य सम्पादितको उच्च मुल्यांकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न थापालाई गत श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी उपरिक्षक कँडेलले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया