शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

प्रधानमन्त्री देउवालाई चुनौती र अवसर

शनिवार , श्रावण २१, २०७९

काठमाडौं– सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै देश अब चुनावमय बनेको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिने आवधिक आमनिर्वाचनले नेपालका राजनीतिक दलहरुलाई उत्साहित बनाएको छ ।

दलहरुलाई जति उत्साहित बनाएको छ । त्यति नै चुनौती पनि देखिएको छ । पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुरलाई सबैभन्दा चुनौती देखिएको छ ।

जीवन र राजनीति दुबै चरणको उत्तराद्र्धमा रहनु भएका प्रधानमन्त्री देउवाका लागि सम्भवत यो आमनिर्वाचन अन्तिम चुनाव हो । त्यसैले देउवालाई आफ्नो राजनीतिक नेतृत्वको औचित्य पुष्टि गर्नुपर्ने अन्तिम चुनौती र मौका दुबै हुन सक्छन् ।

प्रधानमन्त्री देउवालाई यतिबेला सबैभन्दा ठूलो चुनौती सत्तागठबन्धनमा रहेका दलहरुलाई कसरी सिट बाँडफाँड गर्ने भन्ने रहेको छ । प्रतिनिधिसभाका १ सय ६५ निवौचन क्षेत्र र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँड गर्ने तयारी भए पनि सहमति जुटाउन भने सहज देखिँदैन ।

एकातिर सत्ता गठबन्धनभित्रै सिटका लागि रणनीतिक प्रतिस्पर्धा चलिरहेको छ भने अर्कोतर्फ पार्टीमा आन्तरिक व्यवस्थापन मिलाउन पनि त्यति नै चुनौती छ ।

काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बन्नु भएका डा.शेखर कोइराला समूहले ४१ प्रतिशत मत आफूहरुले ल्याएपनि देउवाले उपेक्षा गरेको र पार्टीको हरेक निर्णयमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ । पार्टीलाई भन्दा गठबन्धनलाई धेरै महत्व दिएको आरोप पनि देउवा माथि लागरिहेको छ ।

गठबन्धनभित्रै रहेको नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीभित्रको एउटा समूहले अझै पनि वाम गठबन्धनको कसरत जारी राखेको छ । गठबन्धनका शीर्ष नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुुन अझै पनि बामपन्थी गठबन्धन हुनुपर्ने मत राख्दै आएका छन् ।

यसरी प्रशस्त चुनौतीका बावजुत निर्वाचनमा होमिएको देउवाको यो राजनीतिक परीक्षा कस्तो हुन्छ ? यसै भन्न सक्ने अवस्था छैन । काँग्रेस निकट विश्लेषक पुरञ्जन आचार्य अनुसार पनि देउवाका लागि यो निर्वाचन चुनौती र मौका दुबै रहेको छ । आचार्यका अनुसार देउवाले पार्टीको आन्तरिक व्यवस्थापन मिलाउन सके सबैभन्दा स्वर्णिम अवसर हुनेछ ।

देउवाको लागि अघिल्लो निर्वाचनमा काँग्रेसको गुमेको साख बचाउने सबैभन्दा उत्तम अवसर रहेको उहाँको भनाइ छ । “यो निर्वाचनमा देउवाजीका लागि चुनौती र मौका दुबै रहेको छ । सबैभन्दा पहिलो चुनौती पार्टीभित्र इतर समूहको नेतृत्व गरेको डा.शेखर कोइराला, गगन थापा समूहका नेताहरुलाई व्यवस्थापन गर्ने र उनीहरुको पनि कुरा सुन्नुप¥यो,” उहाँले भन्नु भयो ।

अचार्यले भन्नु भयो, “देउवाजी महाधिवेशन सकिएको ७ महिना बितिसक्दा पनि सझा सभापति बन्न सक्नु भएको छैन । महाधिवेशनमा ४१ प्रतिशत मत प्राप्त गरेका शेखर कोइराला समूहको नेताहरुलाई पूरै उपेक्षित गरिरहनु भएको छ । त्यसकारण पहिलो काम उनले (देउवा) ले पार्टी मिलाउनु प¥यो, दोस्रो कुरा पार्टीभित्र देखिएको मनोवैज्ञानिक दूरी कम गर्न एउटा कार्यदल बनाउनु प¥यो। टिकट बितरणमा समूहिक निर्णयबाट चल्नुप¥यो ।”

“त्यसकारण काँग्रेसको सबै विचार समूह समेट्न सक्नु पर्यो नत्र भने पार्टीभित्र अन्तरविरोध र अन्तर्घातको श्रृंखला दोहोरिन सक्छ, जुन पार्टीलाई पहिलो शक्ति बनाउने देउवाको चाहनाको अवरोधक हो,” आचार्यले भन्नु भयो ।

तर देउवाको वर्तमान कार्यशैली त्यस्तो नदेखिएको पनि उहाँको आरोप रहेको छ । देउवाले गुट र आफ्नो समूहलाईमात्र काखी च्यापेको र बाँकीलाई पाखा लगाउन खोजिएको उहाँको भनाइ छ । यो चुनौतीलाई अवसरमा परिणत गरे पार्टी र देउवाका लागि सुन्दर मौका हुने छ । नत्र यसरी नै अगाडि बढे पार्टीमा ठूलो ‘बिष्फोट’ हुने उहाँको अनुमान रहेको छ ।

देउवाका लागि अवसर र चुनौती दुबै

५ कार्यकालसम्म मुलुकको प्रधानमन्त्री अर्थात् कार्यकारी शक्तिको प्रमुख भइसकेका र रहिरहेका प्रधानमन्त्री देउवाका लागि यो निर्वाचन सम्भवत अन्तिम अवसर पनि हो । उहाँी देश संघीय व्यवस्थामा गएपछि पहिलो र दोस्रो दुबै निर्वाचन आफ्नो नेतृत्वमा गराउने एकमात्र प्रधानमन्त्री पनि हुुनु हुने छ ।

तर ५ पटक प्रधानमन्त्री र २ कार्यकालका लागि काँग्रेस सभापतिको नेतृत्व गरिरहेका देउवाका विगतका कार्यकाल खासै सुखद रहेन । त्यसैले पनि उहाँ यो निर्वाचनमा आफ्नो नेतृत्वको परीक्षणलाई औचित्य पुष्टि गर्न चाहन्छन्। काँग्रेस सचेतक मीन विश्वकर्मा पनि प्रधानमन्त्री देउवा चुनौतीसँग नडराउने र चुनौतीलाई अवसरको रुपमा परिणत गर्न सक्ने नेताको रुपमा व्याख्या गर्नु हुन्छ ।

“चुनौती मै अवसर हुन्छ । र अवसरमा पनि चुनैती हुन्छ । दुबै कुरालाई सन्तुलित ढंगबाट व्यवस्थापन गर्दै प्रधानमन्त्री अगाडि बढ्नु हुन्छ,” नेता विश्वकर्माले भन्नु भयो, “सबैभन्दा ठूलो चुनौती त गठबन्धनलाई निरन्तरता दिनु थियो । त्यो कुरामा उहाँ सफल हुनुभयो । अब बाँकी चुनौती भनेको गठबन्धनबाट पार्टीको टिकट हैसियत सम्मानजनक रुपमा ल्याउने र ल्याएको टिकट लाई उचित व्यवस्थापन गर्ने र आफ्नो उम्मेदवारलाई सम्मानजनक रुपमा निर्वाचन जिताउने हो। मलाई लाग्छ प्रधानमन्त्रीमा यो सबै खुवी रहेको छ । उहाँले पुुुुुष्टि गर्नु हुनेछ ।”

वगतदेखि अहिलेसम्म देउवाले जतिपटक सरकारको नेतृत्व गरे त्यो सबै देशसंक्रमण कालिन र कठिन अवस्थामा रहेको बेला नेतृत्व गरेका कारण पनि देउवाले चुनौतीलाई अवसरको रुपमा परिणत गर्ने उहाँँको विश्वास रहेको छ ।

प्रतिक्रिया