सिन्धुली– सिन्धुली प्रहरीले झापा पुगेर कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत सोमबार कमलामाई नगरपालिका ७ गडौलीका ५५ वर्षिया गम्भिर बहादुर पाख्रिनलाई कुटपिट गरि हत्या गरेको आरोपमा सोहि स्थानका राम बहादुर मोक्तानलाई झापा पुगेर सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक बुद्धि मणी नेपालले जानकारी दिनुभएको छ । मोक्तानले कुुटपिट गरि पाख्रिनलाई घाइते बनाएका थिए । घाइते पाख्रिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको नेपालले बताउनुभयो । कुटपिट पश्चात रामे भनिने राम बहादुर मोक्तान भागी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय बिर्तामोडसँग समन्वय गरि बिर्तामोडबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरि, सिन्धुली प्रहरीले दोलखा पुगेर सवारी ज्यान मुद्धाका कसुरदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले तिनपाटन गाउँपालिका ९ का २४ वर्षिया राजेश पौडेललाई पक्राउ गरि जिल्ला अदालत सिन्धुलीमा पेश गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिनुभयो । २०७६ साल असार १२ गतेको अदालतको आदेश अनुसार सवारी ज्यान मुद्दामा पौडेललाई दुई बर्ष कैद र दुई हजार रुपैँया जरिवानाको फैसला गरिएको थियो । फरार रहेका पौडेल दोलखाको तामाकोशी गाउँपालिका ३ स्थित छौडे क्षेत्रमा लुकीछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा प्रहरी चौकी छौडे दोलखाको समन्वयमा खोजतलास गर्दै जाने क्रममा सोही स्थानमा लुकिछिपी हिड्दै गरेको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिएको नेपालले बताउनुभयो ।
त्यस्तै, सिन्धुली प्रहरीले लुकाई छिपाई ल्याएको गुट्खा सहित एकजनालाई बुधबार नियन्त्रणमा लिएको छ । कमलामाई न.पा.९ चोरखोला स्थित बि.पि. राजमार्गमा सर्लाहीबाट काठमाडौँ तर्फ जादँै गरेको बसमा राजनिवास सुगन्धित पान मसला र एक्स एल जाफरानि जर्दा (राज निवासको तुलसी) १२ सय÷ १२ सय थान र तुलसी ५४ सय थानसहित १८ वर्षिया धिरज गुप्तालाई पक्राउ गरेको हो । अन्दाजी २२ हजार आठ सय मूल्य बराबरको बिना बिलको सामाग्रीसहित सर्लाहीका गुप्तालाई प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर पठाइएको छ । ना.६.ख १४६५ नम्बरको बसलाई रोकि उक्त बसको पछाडिको डिक्कि चेकजाँच गर्दा अबैध (बिना बिल) लुकाई छिपाई ल्याएको सामान फेला परेको निरिक्षक नेपालले बताउनुभयो ।
त्यसैगरि, फिक्कल गाउपालिका वडा नं. ४ मा सवारी साधन चेक जाँच गर्ने क्रममा ४५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । बिहिबार ओखलढुंगाबाट काठमाडौँ तर्फ जादै गरेको ना १ ज ५५१० नम्बरको टाटासुमोको छतमा चामलको बोरा र काटुन भित्र राखिएको २१ वटा जम्बु कोकको बोतलमा मदिरा फेला पारिएको प्रहरीले जनाएको छ ।