काठमाडौं १५ पुस –– काठमाडौं जिल्ला अदालतले एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोड, काठमाडौंका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउने आदेश जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले हिरासतमा राखी अनुसन्धानपश्चात् ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । तामाङसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
निक्षेपकर्ताको रकम फिर्ता नहुने जोखिम रहेको भन्दै सरकारका तर्फबाट वकिलहरुले पुर्पक्षका लागि थुनामा राख्ने आदेशको गर्नुपर्ने जिकिर गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सिआईबी)का निर्देशक (डिआईजी) धिरजप्रताप सिंहले अदालतले तामाङसहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिनु भयो । सीआईबीले अनुसन्धानको क्रममा तामाङसहित १२ जना प्रतिवादीहरू पक्राउ गरेको थियो ।
अदालतले ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ । अदालतले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागी थुनामा पठाएको छ । हरिहर प्रसाद लामिछाने (पूर्वलेखासमिति सदस्य)सँग ५० लाख, विजयविक्रम शाह (वरिष्ठ प्रबन्धक)सँग १५ लाख, भगवानबहादुर सिंह डंगोलसँग १० लाख, एलिना तुलाधर (जुनियर असिस्टेन्ट म्यानेजर)सँग ५ लाख, मायोनानी महर्जनसँग ५ लाख, बुद्धराज तामाङसँग ५ लाख, कौस्तुभ केतन ढुंगानासँग ५ लाख, शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार, राकेश महर्जनसँग ५० हजार धरौटी माग गरेको छ ।
अदालतले असिस्टेन्ट संगीत श्रेष्ठलाई भने साधारण तारिखमा छाडेको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । एमालेका पूर्वसांसद समेत रहेका तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका छन् ।