सिन्धुली– सिन्धुलीको तीनपाटन गाउँपालिकाबाट १२९ वर्ष जेल सजाय तोकिएका एक फरार प्रतिवादिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । चोरी तथा डकैती मुद्दामा तनहुँ अदालतले एक सय २९ वर्ष सात महिना १५ दिन जेल सजाय तथा १४ लाख ८३ हजार तीन सय जरिवाना तोकेका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो । तिनपाटन गाउँपालिका वडा नं ३ का मगर कान्छा भन्ने मेष बहादुर थापा मगरलाई सोमबार साझ ५ बजे पक्राउ गरिएको सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरक्षिक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
छ वटा जवरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्धामा मगरलाई २०७१ वैशाख १७ गते र २०७२ जेठ ४ गते तनहुँ अदालतको फैसलाले सो कैद सजाय र जरिवाना तोकेको थियो । प्रहरीले खोजविन गर्ने क्रममा उनलाई सोमबार साँझ पक्राउ गरिएको डिएसपी लामाले जानकारी दिनुभयो । पक्राउ परेका मेषबहादुरलाई आवश्यक कारवाहीका लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको छ ।