जिल्ला प्रहरी कार्यालय सिन्धुलीका पुर्व प्रमुख प्रहरी उपरिक्षक आभूषण तिम्सिनालाई कार्यकाल सम्हालेको केहि महिनामै सिन्धुलीबाट अनेत्र सरुवा गरियो । विभिन्न कारण देखाई तिम्सिना सरुवा भएपनि जिल्लाका पहुँचवाला राजनैतिक दलका नेतासँग तालमेल नहुँदा उहाँको सरुवा भयो । राजनैतिक दलका नेताको आग्रह नमान्दा गृहमन्त्रालयसँगको पहुँचको आधारमा ती नेताले तिम्सिनालाई सरुवा गराई छाडे । तिम्सिनाले गल्ति गरेका थिए वा थिएनन् त्यो आगामी दिनमा निष्पक्ष छानविन हुनेनै छ । तर, तिम्सिनाले सिन्धुलीमा छोटो अवधिमा जे काम गरे त्यो सराहनिय र उदाहरणीय छ । जिल्लामा अहिले मुख्य चुनौति भनेको लागुऔषध निर्मुल गर्नु हो । सिन्धुली लागुऔषधको ट्रान्जिट प्वाइन्ट हो । भारतसँगको नजिक दुरीका कारण सिन्धुलीमा लागुऔषध भित्रिने गर्दछ । विपी राजमार्गहुदैँ भारतबाट खरिद गरिएको लागुऔषध सिन्धुलीको बाटो हुदैँ केन्द्रको राजधानिसम्म पुग्छ । लागुऔषध नियन्त्रणकालागि उपरिक्षक तिम्सिना आक्रमक ढंगमा प्रस्तुत हुनुभएको थियो । हालसम्म कुनै पनि जिल्लाका प्रहरी प्रमुखले जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउने लागुऔषधको नियन्त्रणमा तिम्सिनाको गतिमा कदम चाल्न सकेका छैनन् । तिम्सिनाले आक्रमक भएर लागुऔषध नियन्त्रणमा जोड दिनुभएको थियो । उहाँको कार्यकालमा सिन्धुलीमा लागुऔषध प्रयोगकर्ता देखि विक्रीकर्ताहरु सम्म त्राहिमाम भएको अवस्था थियो । उपरिक्षक तिम्सिनाको सरुवा भएसँगै फेरि सिन्धुलीमा लागुऔषधको विक्री र प्रयोग खुल्लेआम रुपमा बढिरहेको छ । जिल्लाका युवाहरु लागुऔषधमा फसिरहेका छन् । लागुऔषधको व्यापक रुपमा प्रयोग भएपनि स्थानिय सरकार, प्रहरी र अन्य जिम्मेवार निकायले लागुऔषध नियन्त्रणमा महत्वपुर्ण कदम चाल्न सकिरहेका छैनन् । यो अर्थमा पनि उपरिक्षक तिम्सिना सिन्धुलीका लागि महत्वपुर्ण प्रहरी प्रमुखका रुपमा स्थापित हुनुभएको थियो ।
लागुऔषध नियन्त्रणमा मात्र नभएर अवैद्य कारोबारको रोकथामा तिम्सिनाले अंकुश लगाउनुभएको थियो । दबंग शैलिमा तिम्सिनाले सिन्धुलीमा छोटो अवधि बिताउनुभयो । सिन्धुली जिल्लामा प्रहरी प्रमुखको कार्यशैली यहि रुपको आवश्यकता छ । किनभने, जिल्लामा परिस्थीति डरलाग्दो बनिरहेको छ । लागुऔषध नियन्त्रणमा स्थानिय सरकार र प्रहरीले सक्रियता नबढाउने हो भने हाम्रो समाजमा ठूलो दुर्घट्ना निम्तने निश्चित छ । जिल्लाकै औषधि पसलहरुमा बिना पुर्जा लागु औषधको रुपमा प्रयोग हुने औषधि विक्री गर्ने क्रम रोकिएको छैन । चिकित्सकको अनुमति र पुर्जाबिना दिनै नमिल्ने औषधिपनि मेडिकलबाट लागुऔषध प्रयोगकर्ताले खरिद गरिरहेका छन् । यस्तो गतिविधि भइरहदा पनि छड्ने चेकजाँच नहुनु दुःखद हो । त्यसैगरि, जिल्लाका विभिन्न चेकप्वइन्टहरुमा लागुपदार्थ सेवनको परिक्षण गर्ने किट उपलब्ध गराउन स्थानिय सरकारले कुनै वास्ता नदिनु जिल्लाको मुख्य चुनौतिलाई नै नजरअन्दाज गर्नु हो । तसर्थ, स्थानिय सरकारले लागुऔषध नियन्त्रणमा विशेष जोड दिन आवश्यक छ । त्यस्तै, प्रहरीले पनि जिल्लामा लागुऔषध विक्री गर्ने त्यस्ता मेडिकलहरुको पहिचान गरि कडा भन्दा कडा कदम चाल्न जरुरी छ । अन्यथा, आगामी दिनमा हाम्रो समाजमा ठूलो दुर्घट्ना हुने निश्चितप्रायः छ । अतः जिल्लामा पुर्व प्रहरी प्रमुख तिम्सिनाको सकारात्मक कदमको कमि हुन नदिन उहाँले जुन शैलिमा लागुऔषध लगायत अवैद्य कारोबार नियन्त्रणकालागि प्रयास गर्नुभएको थियो, त्यहि गतिमा अहिलेका प्रहरी प्रमुखले आफ्नो सक्रियता बढाउन आवश्यक छ ।