काठमाडौं माघ ०५ गते । उप*प्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताउनु भएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताउनु भएको छ ।
हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिदैनौ , रक्षामन्त्री समेत रहनु भएका पोखरेलले भन्नुभयो, भूमि अतिक्रमण सह्य हुँदैन, सहदैनाँै । भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा निस्कन लागेको भन्दै उहाँले सरकारले मिचिएको भूमिको छिनोफानो गर्ने बताउनु भयो ।
केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलोपटक भारतसँग सीमाका विषयमा कूटनीति नोट लेखेको भन्दै उहाँले भन्नुभयो, विवादित भूमि फिर्ता गराएरै छाड्छौँ । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा एजेन्डा रहेको उल्लेख गर्नु भएको छ ।
उहाँले निर्माणाधीन तिङ्कर सडकलाई नेपाली सेनामार्फत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । विसं २०६४÷६५ देखि निर्माण शुरु भएको व्यासको तिब्बत जोड्ने सो सडकलाई नेपाली सेनाले निर्माण गर्न लागेको जानकारी गराउनु भयो । सांसद गणेशसिंह ठगुन्ना लगायतका नेताहरुको निरन्तर पहलकदमीका कारण निर्माणाधीन दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत निर्माण गरिन लागेको रक्षामन्त्री पोखरेलले बताउनु भयो ।
झण्डै ११ वर्षअघिबाट निर्माण शुरु भएको तिङ्कर सडकखण्डअन्तर्गत खलङ्गादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्र्याक खुलेको छ । महाकाली करिडोर अन्तर्गत राखिएको सो-सडकको कूल लम्बाइ ४२५ किलोमिटर रहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि तिङ्करसम्मको विभिन्न खण्डमा कूल १२५ किलोमिटर सडकको ट्याक खुलेको दार्चुल तिङ्कर सडक योजनाले जनाएको छ । दार्चुला तिङ्कर सडकको व्यास गाउँपालिका सुनसेराभन्दा माथिल्लो तिङ्कर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्र्याक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको हो ।
उहाँले दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा समेत भूगोलको निरीक्षण गरिने बताउनु भयो । अहिले नेपाल, भारत र चीनसँग सीमा जोडिएका सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, दार्चुलाको तिङ्करमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुने बताउनु भयो । सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेकाले राष्ट्रको स्वाभिमान गुम्न नदिने बताउनु भयो ।
उहाँले फरक प्रसङ्गमा दार्चुलाको सङ्घीय सरकारमा प्रतिनिधित्व छिट्टै हुने बताउनु भयो । विगतदेखि दार्चुलाका जनताले जिताएर पठाएका नेतालाई हामी छिट्टै सरकारमा प्रतिनिधित्व गराउँछौं, उहाँले भन्नुभयो, यो मेरो वचन हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम खलङ्गा पुग्नुभएका मन्त्री पोखरेलले महोत्सवको उद्घाटन पछि जिल्लास्थित कार्यालय प्रमुखसँग छलफलमा सहभागी हुनु भएको छ ।
यस्तै उहाँले आज नै जिल्लास्थित नेपाली सेना दुर्गादल गुल्मको निरीक्षण गर्नु हुनेछ । सोमबार बिहान एक घण्टा जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको पार्टी अध्यक्ष गणेश खत्रीले बताउनु भयो । यस्तै उहाँले बिहान व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर तथा कालापानी क्षेत्रको निरीक्षण गर्नु हुनेछ । महोत्सवमा जिल्लाका मार्मा, मालिकार्जुन, नौगाड, दुहुँ, व्यास र महाकाली नगरपालिकाको विभिन्न कला संस्कृति प्रस्तुत गरिएको छ । रासस