दमौली, १२ मंसिर –तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर चितवनका १५ वर्षीय विद्यार्थी अंकित गुरुङ बेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी गुरुङ कक्षा ९ मा अध्ययनरत छन् । उनी पोखराबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार थिए ।
तनहु प्रहरीका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार आज साँझ करिब ६ः१० बजे बसमा सवार गुरुङ शौच गर्न सडक छेउमा गएका थिए । सोही क्रममा उनी आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेका हुन् ।
प्राप्त सूचनाअनुसार गुरुङ सडकबाट करिब ५० देखि ६० मिटर तल खसेका थिए । उनी बेपत्ता भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थल पुगेको प्रहरी टोलीले बेपत्ता विद्यार्थीको खोजी तथा उद्धार कार्य सुरु गरेको जनाएको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । बेपत्ता विद्यार्थीको अवस्था र घटनासम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।