इन्नोभेक्स विजेता सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थी सम्मानित

सोमवार , भाद्र ८, २०८३

सिन्धुली,०८ भदौं — सुनसरीको इटहरी इन्टरनेसनल कलेजले आयोजना गरेको ‘आईआईसी इन्नोभेक्स’ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीलाई क्याम्पस व्यवस्थापन समितिले सम्मान गरेको छ ।

‘टर्निङ स्ट्राटेजी इन्टु इम्प्याक्ट’ अर्थात् रणनीतिलाई प्रभावसँग जोड्ने मूल नारासहित सञ्चालन गरिएको प्रतियोगितामा देशभरका एक दर्जनभन्दा बढी क्याम्पसका विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूको व्यावसायिक क्षमता र ज्ञानलाई व्यावहारिक जीवनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी बनेका गगन तिमल्सिना, अञ्जली पण्डित, दीपक फुयाल र सुरक्षा खड्कालाई प्रोत्साहनस्वरूप क्याम्पस परिसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रतियोगिताका क्रममा प्राप्त अनुभव प्रस्तुत गर्दै आफ्नो टोलीले पहिलो स्थान प्राप्त गर्न प्रस्तुत गरेको भिडियोसमेत प्रदर्शन गरेका थिए ।

उक्त भिडियोमा सिन्धुलीका युवाहरू विदेश पलायन हुने अवस्थासँगै जिल्लाको प्रमुख कृषि उत्पादन जुनार खेतीमा रहेको व्यावसायिक सम्भावनालाई विषयवस्तु बनाइएको थियो । स्थानीय स्रोत, युवाशक्ति र उद्यमशीलतालाई जोडेर तयार पारिएको प्रस्तुतिले प्रतियोगितामा निर्णायकहरूको ध्यान आकर्षित गरेको विद्यार्थीहरूले बताएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दाहालले शैक्षिक गुणस्तर कायम गर्न संस्थाले आवश्यक सबै पहल गर्ने बताए । विद्यार्थीको हकहित सुनिश्चित गर्न अक्षय कोष विस्तारमा विशेष ध्यान दिइने उल्लेख गर्दै उनले क्याम्पसको शैक्षिक सुधारका लागि दीर्घकालीन गुरुयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस प्रमुख दुर्गाप्रसाद अधिकारीले शैक्षिक प्रवद्र्धनका लागि अनुसन्धानमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। उनले आगामी दिनमा सिन्धुली बहुमुखी क्याम्पसले पनि विद्यार्थीको क्षमता विकास गर्ने खालका प्रतिस्पर्धात्मक र व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

सम्मान कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थी, क्याम्पसका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख उमेश कोइरालाले गरेका थिए ।

 

प्रतिक्रिया