काठमाडौं,०८ भदा – काठमाडौँ महानगरपालिका–७, कुमारीगालमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका व्यक्तिमाथि गरिएको चेकजाँच तथा अनुसन्धानका क्रममा प्रहरीले ३७.९१ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रहरीका अनुसार कुमारीगाल निवासी ३९ वर्षीय विकास श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारी तलासी लिँदा उनको साथबाट खैरो हेरोइनका दुई पोका बरामद भएका थिए । ती पोका तौल गर्दा ०.२७ मिलिग्राम तथा नगद ५५ हजार रुपैयाँ फेला परेको थियो ।
प्रारम्भिक सोधपुछपछि प्रहरीले काठमाडौँ महानगरपालिका–९, पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेस्ट हाउसको चौथो तलामा रहेको कोठा नम्बर १२३ मा खानतलासी गरेको थियो । उक्त कोठाबाट खैरो हेरोइनका थप दुई पोका बरामद भएका छन्। थप बरामद पदार्थसमेत जोड्दा खैरो हेरोइनको कुल तौल ३७.९१ ग्राम पुगेको प्रहरीले जनाएको छ । सोही क्रममा एक थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल पनि बरामद गरिएको छ ।
घटनामा श्रेष्ठसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिराहाको अर्नामा गाउँपालिका–२ का ३० वर्षीय सुरजकुमार महत्तो र सप्तरीको सुरुङ्गा नगरपालिका–५ का १७ वर्षीय आदित्य झा रहेका छन् । पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।