सिन्धुली,०१ भदौ – सिन्धुलीको दुधौली नगरपालिका–८ स्थित खोरभञ्ज्याङमा मदन भण्डारी राजमार्गअन्तर्गत दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले सोमवार जानकारी दिएको छ । दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अर्का एक जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
प्रहरीका अनुसार आइतवार बिहान करिब ९ बजेर ४० मिनेटमा डकाहाबाट कमलामाईतर्फ जाँदै गरेको बा ८० प १३०७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि जाँदै गरेको स ११ प ४१९१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा बा ८० प १३०७ नम्बरको मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–१४ निवासी अन्दाजी ३० वर्षीय प्रेमबहादुर जोगी भने घाइते भएका छैनन् । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेको पाइएको छ । उनी हाल प्रहरी चौकी दुधौलीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल तथा बा ८० प १३०७ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार सिन्धुलीको फिक्कल गाउँपालिका–३ निवासी अन्दाजी ४५ वर्षीय ज्ञानबहादुर जोगीको काँध र कुममा चोट लागेको थियो । उनको अवस्था सामान्य रहेको र दुधौली नगर अस्पताल सिर्थौलीमा सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किएको प्रहरीले जनाएको छ ।
त्यस्तै, स ११ प ४१९१ नम्बरको मोटरसाइकल चालक दुधौली नगरपालिका–७ सुगारे निवासी अन्दाजी ७० वर्षीय भविलाल अधिकारीको ढाडमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ । दुधौली नगर अस्पताल सिर्थौलीमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बर्दिबासतर्फ लगिएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन नियन्त्रणमा राखी घटनाबारे आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रिया अघि बढाएको छ ।