सम्पादकीय

गोदामको खेल, बजारमा अभाव

मंगलवार , भाद्र २, २०८३


सिन्धुलीमा दैनिक उपभोग्य वस्तुको अभाव र महँगीबारे गुनासो बढिरहेका बेला प्रशासनले ढुंग्रेबासस्थित व्यापारी जय दाससँग सम्बन्धित विभिन्न गोदाममा थालेको अनुगमनलाई सामान्य बजार निरीक्षणका रूपमा मात्र लिन मिल्दैन । ठूलो परिमाणमा सामान भण्डारण गरिएको, म्याद नाघेका खाद्य तथा पेय पदार्थ फेला परेको र कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने आशंकाले उपभोक्ता अधिकार, सार्वजनिक स्वास्थ्य र बजार अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ ।

व्यवसायीले सामान भण्डारण गर्नु आफैँमा गैरकानुनी होइन । तर बजारमा अभाव देखिएको समयमा अत्यधिक परिमाणमा अत्यावश्यक वस्तु गोदाममा राखिएको पाइए त्यसको उद्देश्य र वैधानिकता छानबिन हुनुपर्छ । अझ म्याद नाघेका सामग्री पुनः प्याकेजिङ गरी बजारमा पठाइने गरेको आशंका सत्य ठहरिए त्यो केवल व्यापारिक अनियमितता होइन, उपभोक्ताको स्वास्थ्यसँग गरिएको गम्भीर खेलवाड हो ।

गत वर्षसमेत सोही व्यवसायसँग सम्बन्धित गोदाममा म्याद गुज्रिएका सामग्री फेला परी जरिवाना गरिएको विवरणले अहिलेको अनुगमनलाई अझ संवेदनशील बनाएको छ । एउटै प्रकृतिको समस्या दोहोरिएको हो भने प्रशासनले जरिवानामै सीमित नभई कारोबारको सम्पूर्ण शृंखला, खरिद–बिक्री अभिलेख, बिल–बिजक, भण्डारण अवस्था र बजार आपूर्तिसम्म अनुसन्धान गर्नुपर्छ ।

प्रशासन र नियामक निकायलाई प्रभावमा राखेको भन्ने कथित अभिव्यक्तिसमेत सार्वजनिक बहसमा आएको छ। यस्तो दाबी सत्य हो वा होइन, निष्पक्ष अनुसन्धानबाट स्पष्ट पारिनुपर्छ । आरोपलाई प्रमाण मान्नु हुँदैन, तर गम्भीर आरोपलाई बेवास्ता गर्नु पनि राज्यको जिम्मेवारी होइन ।

अब प्रशासनको परीक्षा सुरु भएको छ । छापा मारेर केही सामान फेला पार्नु मात्र पर्याप्त छैन । सबै गोदामको पारदर्शी अनुगमन, प्रमाणमा आधारित निष्कर्ष र दोषी देखिए कानुनअनुसार प्रभावकारी कारबाही आवश्यक छ । बजार कसैको निजी गोदामको नियन्त्रणमा चल्नु हुँदैन । उपभोक्ताको स्वास्थ्य, अधिकार र विश्वासभन्दा ठूलो कुनै व्यापारी वा प्रभाव हुन सक्दैन ।

प्रतिक्रिया