नौं महिनामा ८ लोकसेवा परीक्षा पास गर्ने सीताको प्रेरक सफलता

शनिवार , चैत्र २८, २०८२

काठमाडौं २८, चैत  — प्यूठानकी सीता पोख्रेलले स्वाध्ययनको माध्यमबाट अल्प अवधिमै उल्लेखनीय सफलता हासिल गर्दै लोकसेवा तयारी गर्ने युवापुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छिन् । उनले करिब नौ महिनाको अवधिमा विभिन्न संस्थानअन्तर्गतका आठवटा लोकसेवा परीक्षा उत्तीर्ण गर्दै आफूलाई सक्षम र प्रतिबद्ध अभ्यर्थीका रूपमा स्थापित गरेकी हुन् ।

३० वर्षीया पोख्रेलले नेपाल आयल निगमको छैटौँ तह, नेपाल नागरिक उड्डयन प्राधिकरणको पाँचौँ तह (प्राविधिक), खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ तह, राष्ट्रिय परीक्षा बोर्डको छैटौँ तह, त्रिभुवन विश्वविद्यालय सेवा आयोगको छैटौँ तह, गुठी संस्थानको छैटौँ तह, नेपाल विद्युत् प्राधिकरणको सातौँ तह (प्राविधिक) तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको छैटौँ तहमा सफलता प्राप्त गरेकी हुन् । हाल उनी नेपाल विद्युत् प्राधिकरण, रामेछाप वितरण केन्द्रमा प्रमुख (प्रशासकीय अधिकृत) का रूपमा कार्यरत छिन् ।

सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढेकी पोख्रेलले कुनै औपचारिक तयारी कक्षा नलिई स्वअध्ययनकै भरमा यस्तो सफलता हासिल गरेकी हुन् । गाउँमा घाँस–दाउरा गर्दै हुर्किएकी उनले बाल्यकालदेखि नै अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । २०६७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उनले पाल्पाबाट आइए र दाङबाट विज्ञान विषयमा स्नातक अध्ययन पूरा गरिन् । त्यसपछि विवाह पश्चात् काठमाडौंमा बसोबास गर्दै स्नातकोत्तर तह (एमएस्सी) अध्ययन सम्पन्न गरिन् ।

अध्ययनकै क्रममा मातृत्वको जिम्मेवारीसमेत सम्हालेकी पोख्रेलले छोरा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिएकी थिइन् । छोरालाई विद्यालय पठाएपछि दिनको समय अध्ययनमा लगाउने र राति सुताइसकेपछि पुनः अध्ययन गर्ने उनको दिनचर्या थियो । उनले आफ्नो समय व्यवस्थापनमा उच्च अनुशासन अपनाउँदै सामाजिक सञ्जाल, मनोरञ्जन तथा अनावश्यक गतिविधिबाट दूरी कायम गरेकी थिइन् ।

उनका अनुसार करिब डेढ वर्षको निरन्तर अध्ययनपछि सफलता देखिन सुरु भएको हो। ‘नियमितता र समर्पण बिना लोकसेवामा सफलता सम्भव हुँदैन,’ उनी भन्छिन् । सातौँ तहमा नाम निस्किएपछि उनले अन्य तहका अन्तर्वार्तामा सहभागी हुन छोडेकी थिइन्, जसले उनको लक्ष्यप्रति स्पष्टता झल्काउँछ ।

पोख्रेलको सफलतामा परिवारको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । उनका श्रीमान् माधवमणि पौडेल स्वयं निजामती सेवामा कार्यरत रहेकाले उनले अध्ययनका लागि आवश्यक वातावरण सिर्जना गरेका थिए । उनी भन्छिन्, “घरपरिवारको सहयोग र सकारात्मक वातावरणले नै अध्ययनलाई निरन्तरता दिन सम्भव भयो ।”

स्वअध्ययनका क्रममा उनले पाठ्यपुस्तकसँगै इन्टरनेट स्रोत, लेख तथा भिडियो सामग्रीको समेत उपयोग गरेकी थिइन् । आफूले अध्ययन गरेको विषयलाई व्यवस्थित रूपमा नोट बनाउने र नियमित पुनरावृत्ति गर्ने उनको अभ्यासले तयारीलाई अझ प्रभावकारी बनाएको थियो । नयाँ विषयवस्तु बुझ्नका लागि उनले विभिन्न डिजिटल माध्यमको सहारा लिएको बताइन्छ ।

पोख्रेलले लोकसेवा तयारी गर्ने अभ्यर्थीलाई अनुशासन, निरन्तरता र त्यागलाई प्राथमिकता दिन सुझाव दिएकी छन् । “मोबाइल, सामाजिक सञ्जाल र अनावश्यक घुमघाममा समय खर्चेर सफलता हासिल गर्न सकिँदैन,” उनको भनाइ छ । उनका अनुसार केही समयको त्यागले दीर्घकालीन उपलब्धि सुनिश्चित गर्न सक्छ ।

भविष्यमा उनी संस्थानमै रहँदै उच्च पदका लागि तयारी गर्ने योजनामा छिन् । निजामती सेवातर्फ नलाग्ने निर्णय गर्दै उनले आगामी दिनमा उपसचिव तहसम्म पुग्ने लक्ष्य लिएको बताएकी छन् ।

पोख्रेलको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई स्वाध्ययन, अनुशासन र दृढ इच्छाशक्तिको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ। यस्तो उपलब्धिले लोकसेवा तयारीमा लागेका हजारौँ युवालाई आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया