काठमाडौं,११चैत — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुनावी पराजयपछि आत्मसमिक्षा भन्दा आरोप–प्रत्यारोपको स्वर चर्किँदै गएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय तहकै नेताहरूले पार्टीलाई भोट नहालेको दाबी गर्दै कारबाहीको चेतावनी दिएपछि आन्तरिक विवाद सतहमा आएको हो ।
प्रचण्डले हालै आयोजित जनवर्गीय संगठनका प्रमुखहरूको बैठकमा बोल्दै प्रारम्भिक रिपोर्टअनुसार झण्डै ५० प्रतिशत केन्द्रीय नेताहरूले नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिएको बताएका थिए । उनले त्यस्ता नेता पहिचान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । “को–कोले भोट हालेनन्, कसले घन्टी हाले, सबै विवरण चाहिन्छ,” उनले भनेका थिए ।
तर, यस्तो गम्भीर आरोप सार्वजनिक हुँदा पनि पार्टीको केन्द्रीय समिति वा सचिवालय बैठक भने अझै बस्न सकेको छैन । करिब २५ सयभन्दा बढी सदस्य रहेको भीमकाय केन्द्रीय समिति व्यवस्थापनकै चुनौतीका कारण सक्रिय हुन नसकेको नेताहरू बताउँछन् । विभिन्न कम्युनिस्ट घटक र समूहको एकीकरणबाट बनेको संरचनामा सदस्यहरूबीच सामान्य परिचयसमेत स्थापित नभएको अवस्था रहेको छ ।
पार्टीभित्रका केही नेताहरूले भने नेतृत्वको यस्तो शैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार चुनावी पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा नेतृत्व जोगाउने मानसिकता हावी देखिएको छ । “यत्रो एकता अभियानपछि पनि मतमा किन रूपान्तरण हुन सकेन भन्ने समीक्षा हुनुपर्ने हो,” एक केन्द्रीय नेताले टिप्पणी गरे ।
यता, नेता बेदुराम भुसालले भने चुनावी समीक्षा प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनका अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट प्रतिवेदन माग गरिएको छ र ती रिपोर्टहरू प्राप्त भएपछि सचिवालय बैठकमार्फत समग्र समीक्षा गरिनेछ । “रिपोर्ट आउने क्रम जारी छ, त्यसपछि केन्द्रीय स्तरमा समीक्षा हुन्छ,” उनले भने ।
भुसालले केन्द्रीय नेताहरूले नै पार्टीविरुद्ध काम गरेको भन्ने आरोपलाई अस्वीकार गर्दै पराजयका अन्य कारणहरू खोजिनुपर्ने बताए । “हामीलाई मतदाताले पुरानै पार्टीको रूपमा हेरे, त्यसको प्रभाव परेको हुन सक्छ,” उनले स्पष्ट पारे ।
गत प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिटमा सीमित सफलता पाएको थियो । प्रचण्ड र वर्षमान पुन विजयी हुँदा माधवकुमार नेपालसहित शीर्ष नेताहरू पराजित भएका थिए ।
यसबीच, समीक्षा बैठक नबसी कारबाहीको चेतावनी दिइनुले पार्टीभित्र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठ्न थालेका छन् । आगामी दिनमा नेकपाले आत्मसमिक्षा र संगठन सुदृढीकरणलाई प्राथमिकता दिन्छ कि आन्तरिक द्वन्द्वमै अल्झिरहन्छ भन्ने चासो बढेको छ ।