काठमाडौं, ८ चैत – नेपाली काँग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । जारी केन्द्रीय समिति बैठकमा भएको गहन समीक्षापछि यस्तो निष्कर्ष सार्वजनिक गरिएको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेले पत्रकारहरूसँग कुरा गर्दै कम मतान्तरमा हारिएका अधिकाँश क्षेत्रमा आन्तरिक कमजोरी प्रमुख कारण रहेको बताए । उनका अनुसार ५ सयदेखि ३ हजार मतान्तरभित्र पराजित भएका क्षेत्रमा मुख्य रूपमा अन्तर्घात र संगठनभित्रकै असहयोग जिम्मेवार देखिएको छ ।
त्यसैगरी ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा चुनावी अभियानमा कमजोरी, समन्वय अभाव र रणनीतिक त्रुटि देखिएको उनले उल्लेख गरे । अझ ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घातसँगै कमजोर चुनावी क्याम्पेन र प्रतिकूल राजनीतिक ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष निकालिएको छ ।
चालिसेले परम्परागत मत कसरी अन्यत्र सरे भन्ने विषयमा पनि पार्टी गम्भीर रूपमा छलफलमा रहेको बताए । “यो केवल मतको माइग्रेशन हो कि मतदाताको सोच नै परिवर्तन भएको हो भन्ने विषयलाई हामीले गहिरो रूपमा अध्ययन गरिरहेका छौं,” उनले भने ।
उनका अनुसार केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको काँग्रेसप्रतिको विश्वासमा समेत कमी आएको संकेत देखिएको छ । करिब ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य रहेको पार्टीले अपेक्षित मत प्राप्त गर्न नसक्नु गम्भीर चिन्ताको विषय बनेको उनले बताए ।
जारी केन्द्रीय समिति बैठकमा मुख्य रूपमा निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । पार्टीभित्र देखिएका कमजोरी पहिचान गर्दै आगामी दिनमा संगठन सुदृढ गर्ने, आन्तरिक एकता कायम गर्ने र जनतामाझ विश्वास पुनः स्थापित गर्ने दिशामा कार्ययोजना तयार पारिने उनले जानकारी दिए ।
काँग्रेसले आगामी रणनीतिमा संगठन बलियो बनाउने, प्रभावकारी चुनावी अभियान सञ्चालन गर्ने र मतदाताको विश्वास पुनः जित्ने लक्ष्यका साथ अघि बढ्ने जनाएको छ ।