शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

रास्वपाको सरकार गठन तयारी तीव्र

आइतवार , चैत्र ८, २०८२

काठमाडौं, ८ चैत  -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारीलाई तीव्र बनाएको छ । चैत १२ गते सांसदहरूको सपथ सम्पन्न भएपछि चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने गरी आन्तरिक तयारी अघि बढाइएको स्रोतले जनाएको छ ।

रास्वपाका अनुसार वरिष्ठ नेता शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी भइरहेको छ । यससँगै पार्टीले सरकार गठन, मन्त्रालय बाँडफाँड तथा राजनीतिक सन्तुलन मिलाउने विषयमा शीर्ष तहमा निरन्तर छलफल गरिरहेको छ । बिहीबार साँझ सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच सरकार गठनका विविध पक्षमा महत्वपूर्ण बैठक बसेको थियो ।

प्रधानमन्त्रीको शपथ समारोहलाई भव्य बनाउने उद्देश्यसहित रास्वपाले विदेशी राष्ट्राध्यक्ष तथा विशिष्ट पाहुनालाई निम्तो दिने विषयमा समेत छलफल गरिरहेको जनाइएको छ । यसले नयाँ सरकारको कूटनीतिक सन्देशलाई सशक्त बनाउने पार्टीको अपेक्षा छ ।

सरकार गठनसँगै १५ देखि १८ मन्त्रालयसम्म विस्तार गर्ने प्रारम्भिक योजना बनाइएको छ । हालसम्मको छलफलअनुसार प्रधानमन्त्रीमा बालेनसँगै गृहमन्त्रीमा डिपी अर्याल र अर्थमन्त्रीमा स्वर्णिम वाग्ले नियुक्त हुने लगभग निश्चित मानिएको छ । यी मन्त्रालयहरूलाई सरकारको मुख्य स्तम्भका रूपमा हेरिएको छ ।

यसैगरी, रास्वपाका प्रस्तावित महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा तथा सांसदहरू सोबिता गौतम, शिशिर खनाल, सस्मित पोखरेल, राजुनाथ पाण्डे र विराजभक्त श्रेष्ठ पनि मन्त्री बन्ने चर्चामा छन् । यद्यपि, अन्तिम निर्णय भने पार्टीको शीर्ष नेतृत्वको सहमतिमा टुंगिने बताइएको छ ।

रास्वपाले नयाँ सरकारमार्फत सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ । पार्टीभित्र युवा तथा प्राविधिक दक्षतायुक्त नेतृत्वलाई अगाडि ल्याउने रणनीति पनि देखिएको छ ।

सरकार गठनको अन्तिम तयारी भइरहँदा मन्त्रालय बाँडफाँड, शक्ति सन्तुलन र कार्यदिशा स्पष्ट पार्ने चुनौती रास्वपासामु रहेको छ । राजनीतिक वृत्तमा भने यो नयाँ समीकरणले देशको शासन प्रणालीमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा चासो बढ्दै गएको छ ।

प्रतिक्रिया