काठमाडौं,०८ चैत — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको अन्तिम तयारीमा जुटेको छ । झण्डै दुई तिहाइ बहुमतसहित सत्तामा पुग्ने अवस्थामा पुगेको रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको स्रोतहरूले जनाएका छन् ।
पार्टी निकट स्रोतका अनुसार बालेन शाहले प्रधानमन्त्रीको सपथ ग्रहणका लागि चैत्र १३ गते, रामनवमीको दिनलाई रोजेका छन् । उक्त दिन सरकारले हरेक वर्ष सार्वजनिक विदा दिने प्रचलन रहेको छ । विदाकै दिन सपथ लिने निर्णयले राजनीतिक वृत्तमा चासो बढाएको छ, किनकि यसअघि सार्वजनिक विदाको दिन कुनै पनि प्रधानमन्त्रीले सपथ लिएको उदाहरण भेटिँदैन ।
स्रोतहरूका अनुसार बालेन शाहले सपथको मिति तय गर्दा ज्योतिषीय साइत हेरेका मात्र होइन, एक तान्त्रिकको सल्लाहसमेत लिएका छन् । उनी स्वयं पनि चिना र साइतमा विश्वास गर्ने व्यक्ति भएको बताइन्छ । ती तान्त्रिकको सुझावअनुसार नै रामनवमीको दिनलाई उपयुक्त मानिएको जनाइएको छ ।
यसैबीच, विदाको दिन राष्ट्रपति कार्यालय खुल्ने वा नखुल्ने भन्ने विषयमा अन्योल देखिएको छ । राष्ट्रपति कार्यालयले यसबारे औपचारिक धारणा सार्वजनिक नगरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष परिस्थितिमा सपथ गराउन सक्ने आकलन गरिएको छ ।
बालेनको व्यक्तिगत शैली र निर्णय प्रक्रियामा तान्त्रिक प्रभाव रहेको विषयले पनि थप चर्चा पाएको छ । स्रोतका अनुसार तान्त्रिककै सुझावअनुसार उनले प्रायः कालो रंगका कपडा लगाउने गरेका छन् । चुनावी प्रचारका क्रममा समेत उनले कालो टोपी, कालो चश्मा र कालै पोशाक प्रयोग गरेका थिए ।
अब भने प्रधानमन्त्रीको सपथका दिन उनले कस्तो पोशाक रोज्छन् भन्ने विषय पनि जनचासोको केन्द्र बनेको छ । परम्परा, विश्वास र आधुनिक राजनीतिबीचको यो संयोजनले बालेनको नेतृत्व शैली कस्तो हुने भन्नेबारे विभिन्न अनुमानहरू भइरहेका छन् ।
रास्वपाको सरकार गठनसँगै देशले नयाँ राजनीतिक दिशाको अपेक्षा गरिरहेको अवस्थामा बालेन शाहको सपथ मिति र त्यससँग जोडिएका निर्णयहरूले राजनीतिक र सामाजिक बहसलाई थप तीव्र बनाएको छ ।