शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

‘श्रम संस्कृतिको’ चुनावी परीक्षा

हर्क साम्पाङको करिश्मा कि संस्थागत राजनीतितर्फको यात्रा ?

शनिवार , फाल्गुण १६, २०८२

 

काठमाडौँ,१६ फागुन – नेपाली राजनीतिको रंगमञ्चमा पछिल्ला वर्षहरूमा ‘श्रम’ र ‘माटो’ केन्द्रित नयाँ धारको उदय भएको छ । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले परम्परागत भाषणमुखी राजनीतिभन्दा भिन्न शैली प्रस्तुत गर्दै आफूलाई वैकल्पिक नेताका रूपमा उभ्याएका छन् । उनले श्रमलाई केवल नारामा सीमित नगरी व्यवहारमा उतार्ने प्रयास गरेका छन ,आफैं ढुंगा बोक्ने, बिरुवा रोप्ने र स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने काममार्फत उदाहरण प्रस्तुत गर्दै आएका छन् ।

साम्पाङको राजनीतिक दर्शन श्रम, उत्पादन र आत्मनिर्भरतामा आधारित छ । यही कारण उनी जनतामाझ ‘भुइँमान्छे’ नेताका रूपमा चिनिएका छन् । उनको उदयलाई विश्लेषकहरूले परम्परागत राजनीतिक दलहरूको कार्यशैलीप्रति बढ्दो असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेका छन् । राज्यले आधारभूत सेवा र विकासको प्रत्याभूति दिन नसक्दा जनताले प्रत्यक्ष श्रम गर्ने, आफ्नै आँखाले देखिने काम गर्ने नेताको खोजी गरेका हुन् । साम्पाङले श्रमलाई प्रतिष्ठासँग जोड्दै समाजका तल्लो तहका नागरिकलाई राजनीतिमा अपनत्वको अनुभूति दिलाउन खोजेका छन् ।

उनको सादगीपूर्ण जीवनशैली र जनतासँगै खटिने बानीले उनलाई ‘सेलिब्रिटी’ छविसहित लोकप्रिय बनाएको छ । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली र स्वदेशमै श्रम गरिरहेका युवामाझ उनको प्रभाव देखिन्छ । डिजिटल सञ्जालको सक्रिय प्रयोगमार्फत उनले आफ्ना गतिविधि प्रत्यक्ष सार्वजनिक गर्दै ‘डिजिटल सर्वहारा’ र ‘भौतिक श्रमिक’ बीचको दूरी घटाउने प्रयास गरेका छन् ।

यद्यपि, उनको व्यक्तित्वका केही पक्ष विवादरहित छैनन् । जिद्दीपन र ‘म–केन्द्रित’ शैलीले दलभित्र सामूहिक नेतृत्व विकासमा चुनौती खडा गरेको टिप्पणी हुँदै आएको छ । दीर्घकालीन राजनीतिक सफलता व्यक्तिगत करिश्मामात्र पर्याप्त नहुने भन्दै संस्थागत संरचना, टिमवर्क र वैचारिक स्पष्टता अपरिहार्य हुने विश्लेषण छ । सामाजिक सञ्जालमा अत्यधिक वा असान्दर्भिक अभिव्यक्तिले कहिलेकाहीँ उनको छविमा प्रश्न उठाउने गरेको छ ।

आगामी निर्वाचन साम्पाङका लागि वास्तविक परीक्षा हुनेछ । कोशी प्रदेशको राजनीतिक समीकरणमा उनको उपस्थिति निर्णायक बन्न सक्ने आकलन छ । स्वतन्त्र तथा असन्तुष्ट मतदातालाई समेट्दै उनी ‘किङमेकर’को भूमिकामा देखिन सक्ने सम्भावना छ । तथापि, देशव्यापी प्रभाव विस्तार गर्न उनले संगठनात्मक सुदृढीकरण र राजनीतिक परिपक्वताको थप प्रमाण दिनुपर्ने देखिन्छ । श्रम संस्कृतिको नारालाई संस्थागत राजनीतिमा रूपान्तरण गर्न सक्ने कि नसक्ने—यसको उत्तर आगामी मतपरिणामले दिनेछ ।

प्रतिक्रिया