काठमाडौँ,१४ फागुन – विभिन्न कम्युनिष्ट घटक र समूहहरूको जोडघटाउबाट पुनर्गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला निर्वाचनको कडा परीक्षामा उभिएको छ । एकताको घोषणासँगै बहुमतको दाबी गरिए पनि भुइँतहको वास्तविकता भने त्यसको विपरीत देखिन्छ । नेतृत्वले परिवर्तन र पुनर्संरचनाको भाष्य अघि सारेको भए पनि जनस्तरमा त्यसप्रति उत्साह र भरोसा पर्याप्त देखिँदैन ।
पार्टीले आफूलाई ‘परिवर्तित शक्ति’का रूपमा प्रस्तुत गर्न खोजे पनि संरचना, शैली र नेतृत्वमा खासै नवीनता नदेखिएको आलोचना बढ्दो छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालकै नेतृत्वमा अघि बढिरहेको नेकपालाई धेरैले पुरानै अभ्यासलाई नयाँ आवरणमा दोहोर्याइएको प्रयासका रूपमा व्याख्या गरिरहेका छन् । नाम परिवर्तन र पुनर्गठनको औपचारिकताभन्दा बाहिर निस्केर ठोस वैचारिक तथा संगठनात्मक रूपान्तरण देखाउन नसक्दा पार्टी पहिचान संकटमा परेको विश्लेषण भइरहेको छ ।
विगतका निर्वाचनहरूमा गठबन्धनको सहाराले राजनीतिक सन्तुलन जोगाउँदै आएका प्रचण्ड र नेपाल यसपटक फरक परिस्थितिमा छन् । एक्लै चुनावी मैदानमा उत्रँदा पार्टीको वास्तविक जनाधार कति छ भन्ने प्रश्नको उत्तर यही निर्वाचनले दिनेछ । गठबन्धनको वैशाखीबिना जनमत परीक्षणमा उत्रिनु उनीहरूका लागि चुनौतीपूर्ण छ । यसले नेतृत्वको व्यक्तिगत प्रभाव र पार्टीको सांगठनिक क्षमताबीचको अन्तर पनि उजागर गर्न सक्छ ।
अर्कोतर्फ, राजनीतिक मैदानमा प्रतिस्पर्धा थप जटिल बन्दै गएको छ । नेकपा एमाले रक्षात्मक देखिए पनि उसको सांगठनिक जालो अझै सुदृढ मानिन्छ । नेपाली काँग्रेसले विशेष महाधिवेशनपछिको नयाँ ऊर्जा र नेतृत्व पुनर्संरचनाको सन्देशसँगै चुनावी अभियान तीव्र पारेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले विशेषगरी शहरी र युवा मतदातामाझ बनाएको प्रभावले परम्परागत दलहरूलाई दबाबमा राखेको छ । यही परिवेशमा नेकपाले स्पष्ट वैकल्पिक दृष्टि प्रस्तुत गर्न नसक्दा ‘रनभुल्ल’ को स्थितिमा परेको टिप्पणी भइरहेको छ ।
धेरै दल र समूह एउटै छातामुनि आए पनि मतदाताको मनोविज्ञान स्वतः एकीकृत हुँदैन । नेतृत्व तहमा भएको सहमति तल्लो तहसम्म अनुवाद हुन नसक्दा अपेक्षित मत रूपान्तरण नहुने जोखिम रहन्छ । कतिपय क्षेत्रमा उम्मेदवारको व्यक्तिगत लोकप्रियताले सिट दिलाउन सक्ने सम्भावना भए पनि समग्र पार्टीको मत प्रतिशत उत्साहजनक नहुन सक्ने आँकलन छ । बलियो संगठन, स्पष्ट नीति र जनतासँग प्रत्यक्ष सम्बन्धबिना केवल शीर्ष नेताको प्रभावले मात्र दीर्घकालीन साख जोगाउन कठिन हुने देखिन्छ ।
नेकपाका लागि यो निर्वाचन हार–जितको सामान्य प्रतिस्पर्धा मात्र नभई अस्तित्वको लडाइँ बन्ने संकेतहरू प्रस्ट छन् । प्रचण्डले आफूलाई चतुर राजनीतिक खेलाडीका रूपमा स्थापित गर्दै आएका छन्, तर यसपटकको चुनौती विगतभन्दा फरक प्रकृतिको छ । जनताले परिवर्तनको ठोस अनुभूति खोजिरहेका बेला नाराभन्दा काम र संरचनागत सुधारलाई महत्व दिने संकेत देखिएको छ ।
अब मतदानको दिन नजिकिँदै जाँदा नेकपाले कस्तो रणनीति अपनाउँछ, नेतृत्वले कति प्रभावकारी सन्देश दिन सक्छ र जनविश्वास पुनः स्थापित गर्न कस्ता कदम चालिन्छन् भन्ने प्रश्नहरूको उत्तर नै यसको भविष्य निर्धारण गर्नेछ । चुनावी चक्रव्यूहबाट बाहिर निस्केर साख जोगाउन सक्ने कि राजनीतिक इतिहासको अर्को मोडमा सीमित हुने भन्ने निर्णय अब मतदाताको हातमा छ ।