शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

जनताको दुःख सुन्ने राजनीति : सिन्धुली–२ मा मनोज जङ्ग थापाको घरदैलो

बुधवार , माघ ७, २०८२

सिन्धुली,०७ माघ — निर्वाचनको सरगर्मी बढ्दै जाँदा सिन्धुली संघीय क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार मनोज जङ्ग थापा ले जनताको घर–आँगनमै पुगेर संवाद गर्ने अभियानलाई तीव्र बनाएका छन् । चुनावी नाराभन्दा प्रत्यक्ष भेटघाट, औपचारिक भाषणभन्दा खुला भलाकुसारी र घोषणाभन्दा व्यवहारिक समाधानको खोजीलाई प्राथमिकता दिँदै अघि बढाइएको यो अभियानले स्थानीय तहमा नयाँ बहस सिर्जना गरेको छ ।

गाउँ–गाउँ, टोल–टोल पुगेर थापाले स्थानीयको दैनिकी, समस्या र अपेक्षाबारे सुन्ने मात्र होइन, तिनलाई नीति र कार्यक्रमसँग कसरी जोड्ने भन्ने विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरिरहेका छन् । विकास योजनाहरू कागजमै सीमित रहने पुरानै प्रवृत्तिप्रति आलोचनात्मक देखिएका उनी “जनताको प्राथमिकता नबुझी बनाइने योजना दीगो हुन सक्दैन” भन्ने धारणा राख्छन् । यही सोचका साथ सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि जस्ता आधारभूत विषयलाई अभियानको केन्द्रमा राखिएको उनको भनाइ छ ।

घरदैलो अभियानमा पार्टी नेतृत्व र जनप्रतिनिधिको उल्लेख्य उपस्थिति देखिन्छ । पार्टी अध्यक्ष महेन्द्र देब श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यहरू विनोद खड्का र कौसल कोइराला, जिल्ला उपाध्यक्ष कर्ण घिसिङ लगायतका नेताहरू घरदैलोमा सहभागी भएर स्थानीयसँग प्रत्यक्ष संवादमा छन् । नेताहरूले सुन्ने मात्र होइन, देखिएका समस्याको समाधान कुन तहबाट सम्भव छ भन्नेबारे स्पष्टता दिन खोजेका छन् ।

्स्थानीयवासीहरूले वर्षौँदेखि अल्झिएका मुद्दाहरू खुलाएर राखेका छन् । कतै अधुरो सडकले जनजीवन प्रभावित छ, कतै खानेपानीको अभावले दैनिक संघर्ष गर्नुपरेको छ । स्वास्थ्य चौकीमा दक्ष जनशक्ति नपुगेको गुनासो छ भने कृषकले अनुदान र बजारको पहुँचबारे प्रश्न उठाएका छन् । युवाहरू रोजगारीका लागि जिल्ला छोड्न बाध्य भएको पीडाले घरदैलो संवादलाई भावनात्मक बनाएको देखिन्छ ।

उम्मेदवार थापाले यस्ता गुनासोलाई केवल सुन्ने औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “समाधान सम्भव विषय तत्काल समन्वयबाट अघि बढाइन्छ, दीर्घकालीन योजनालाई संघीय नीतिसँग जोडिन्छ,” उनले स्थानीयसँगको भेटमा भने । स्थानीय उत्पादनको बजारीकरण, युवालाई सीपमूलक तालिममार्फत रोजगारीसँग जोड्ने कार्यक्रम र सेवा प्रवाहमा पारदर्शिता बढाउने उनको मुख्य एजेन्डा रहेको छ ।

पार्टी अध्यक्ष श्रेष्ठका अनुसार घरदैलो अभियान चुनावी रणनीतिभन्दा पनि जनतासँगको विश्वास पुनस्र्थापना गर्ने अवसर हो । “निर्वाचन जित–हारको प्रतिस्पर्धा मात्र होइन, जनताको भरोसा जित्ने प्रक्रिया पनि हो,” उनको भनाइ छ । प्रदेशसभा सदस्य खड्का र कोइरालाले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य बढाउन सके विकासले गति लिने धारणा राखेका छन् । उनीहरूका अनुसार योजनाको दोहोरोपन हटाएर स्रोतको प्रभावकारी उपयोग गर्न जरुरी छ ।

जिल्ला उपाध्यक्ष घिसिङले संगठन सुदृढीकरणसँगै जनसेवामुखी राजनीतिलाई एमालेको मूल पहिचान बनाइने स्पष्ट पारे । “जनताको समस्या समाधान गर्न नसक्ने राजनीति दीगो हुँदैन,” उनले भने । यही सन्देश लिएर घरदैलो अभियानलाई अझ व्यवस्थित र निरन्तर बनाइने पार्टीको योजना छ ।

घरदैलो अभियानले सिन्धुली–२ मा चुनावी माहोललाई जीवन्त बनाएको छ । मतदाता र उम्मेदवारबीचको दूरी घट्दै गएको अनुभूति स्थानीयले गरेका छन् । प्रत्यक्ष संवाद, समाधानमुखी दृष्टिकोण र व्यवहारिक प्रतिबद्धताले आगामी निर्वाचनमा मतदाताको विश्वास जित्ने एमाले नेतृत्वको अपेक्षा छ । जनताको घरआँगनबाट उठेका आवाज संसदसम्म पु¥याउने वाचासहित अघि बढेको यो अभियानले सिन्धुलीको राजनीतिक बहसलाई नयाँ दिशातर्फ डोर्याइरहेको देखिन्छ ।

प्रतिक्रिया