शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

लोकतन्त्र कमजोर पार्ने सत्ता केन्द्रित राजनीति : स्याङतान

बुधवार , माघ ७, २०८२

 

सिन्धुली,०७ माघ – प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सोनाम सिंह स्याङतान ‘बिजय’ले नेपालमा लोकतान्त्रिक अभ्यास क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरेका छन् । सिन्धुलीमा बुधवार आयोजित उम्मेदवारसँग पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको नाममा सत्ता केन्द्रित अभ्यास हावी भएको, विचार र अभिव्यक्तिमाथि नियन्त्रण बढ्दै गएको र राजनीतिक प्रणाली जनताको आवश्यकता अनुरूप अघि बढ्न नसकेको धारणा राखे ।

उनका अनुसार लोकतन्त्रको मूल आत्मा जनताको वास्तविक सहभागितामा निहित हुन्छ । तर हालको अभ्यासमा जनता निर्णायक भूमिकाबाट टाढा धकेलिँदै गएको उनले बताए । “निर्वाचन प्रक्रिया मात्रै लोकतन्त्र होइन,” उनले भने, “नीति निर्माणदेखि कार्यान्वयनसम्म जनताको आवाज सुन्ने र स्वीकार्ने प्रणाली आवश्यक छ, जुन अहिले कमजोर देखिन्छ ।”

स्याङतानले राज्य संयन्त्र जनमुखी नहुँदा आम नागरिकमा निराशा र असन्तुष्टि बढिरहेको उल्लेख गरे । सामाजिक न्याय, समावेशिता र समान पहुँचजस्ता विषयहरू नीतिगत दस्तावेज र भाषणमै सीमित हुँदै गएको भन्दै उनले व्यवहारमा रूपान्तरण नहुँदा लोकतन्त्रप्रति विश्वास खस्कँदै गएको बताए । “संविधान र कानुनले दिएका अधिकार व्यवहारमा अनुभूत नहुँदासम्म लोकतन्त्र अधुरो नै रहन्छ,” उनको भनाइ थियो ।

परिवर्तनको नाममा पुरानै शक्ति संरचना जोगाउने प्रयास भइरहेको आरोप लगाउँदै स्याङतानले प्रणालीगत सुधार अपरिहार्य भएको बताए । उनका अनुसार सत्ता र स्रोत केही सीमित समूहमा केन्द्रित हुँदा लोकतान्त्रिक मूल्य कमजोर हुँदै जान्छ । “लोकतन्त्रलाई व्यवहारमै स्थापित गर्न सशक्त जनदबाब आवश्यक छ,” उनले जोड दिए, “नागरिक सचेत र संगठित नभएसम्म प्रणाली आफैं सुधारिँदैन ।”

कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार निर्मल कुमार स्याङतानले पनि वर्तमान राजनीतिक अभ्यासप्रति आलोचनात्मक धारणा राख े। उनले स्थानीय तहदेखि केन्द्रसम्म जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने खालको राजनीति आवश्यक रहेको बताए । विकास, रोजगारी र सामाजिक सुरक्षाका मुद्दा प्राथमिकतामा राखेर पार्टी चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो ।

त्यसैगरी, पार्टीका बागमती प्रदेश इन्चार्ज एकबहादुर राना ‘प्रसान्त’ले लोकतन्त्रलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक बनाउने बेला आएको बताए । उनले परिवर्तनको नाममा पुरानै शक्ति संरचना जोगाउने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाएको उल्लेख गर्दै प्रणालीगत सुधार अपरिहार्य भएको धारणा राखे । “सत्ता र स्रोत केही समूहमा सीमित हुँदा जनतामा निराशा बढ्छ,” उनले भने, “यसलाई बदल्न सशक्त जनदबाब आवश्यक छ ।”

पत्रकार भेटघाट कार्यक्रममा उठाइएका विचारहरूले नेपालको लोकतान्त्रिक अभ्यासबारे गम्भीर बहसको खाँचो देखाएको सहभागीहरूको निष्कर्ष थियो । लोकतन्त्रलाई जनमुखी, पारदर्शी र उत्तरदायी बनाउन राजनीतिक दल, राज्य संयन्त्र र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको उनीहरूले बताएका छन् । सहभागी वक्ताहरूले लोकतन्त्रलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र जनउत्तरदायी बनाउन सबै राजनीतिक शक्ति र नागरिकको साझा पहल आवश्यक रहेको निष्कर्ष निकाले ।

प्रतिक्रिया