शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा नेकपा र काँग्रेस दुवैलाई बागीको धक्का

बुधवार , माघ ७, २०८२

सिन्धुली,०७ माघ – सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै जाँदा प्रमुख दलहरू नेपाली कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस दुवैलाई बागी उम्मेदवारीले ठूलो झट्का दिएको छ । पार्टीभित्र टिकट वितरणलाई लिएर चुलिएको असन्तुष्टिले दुवै दलका प्रभावशाली नेताहरूलाई स्वतन्त्र उम्मेदवारीतर्फ धकेलेको छ, जसले जिल्लाको राजनीतिक समीकरणलाई थप जटिल बनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सिन्धुली क्षेत्र नम्बर–२ मा नेता महेश्वर दाहाल ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रले जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस गरिएको नामलाई बेवास्ता गर्दै अर्कै उम्मेदवारलाई टिकट दिएपछि असन्तुष्टि सार्वजनिक रूपमा विस्फोट भएको हो । दाहालको उम्मेदवारीमा पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेल को समर्थन र जिल्ला संयोजक पानीराज बम्जन को प्रस्ताव रहेको बताइएको छ । तत्कालिन माओबादीले सञ्चालनगरेको जनयुद्वमा सुरुदेखीनै सक्रिय रहेका दाहाल जिल्लामा लोप्रिया नेता हुन । दाहालले पार्टी निर्णयलाई लोकतान्त्रिक प्रक्रिया विपरीत भन्दै असहमति जनाउँदै आएका थिए ।

जिल्ला संयोजक बशन्त माझीले केन्द्रको निर्णयले जिल्लाको भावना नबुझेको र जनाधारलाई बेवास्ता गरेको अनुभूति गराएको बताए । त्यसैको परिणामस्वरूप स्वतन्त्र उम्मेदवारी दर्ता भएको उनको दाबी छ । यस घटनाले नेकपाभित्रको आन्तरिक एकता र चुनावी रणनीतिमाथि प्रश्न उठाएको छ ।

उता, नेपाली काँग्रेस पनि यस्तै असन्तुष्टिको चपेटामा परेको छ । काँग्रेस सिन्धुलीका जिल्ला उपसभापति खड्ग वाईवा ले पार्टीले आफूमाथि अपमान गरेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वाईवाले लामो समयदेखि पार्टी संगठनमा योगदान दिएको भए पनि टिकट वितरणमा आफूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । उनले पार्टीभित्रको निर्णय प्रक्रिया अपारदर्शी भएको र योग्यतालाई नजरअन्दाज गरिएको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार बागी उम्मेदवारीले सिन्धुलीको चुनावी प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाउनेछ । ठूला दलका परम्परागत मत विभाजन हुने सम्भावना बढेकाले स्वतन्त्र उम्मेदवारहरू निर्णायक भूमिकामा देखिन सक्छन् । यसले अन्तिम परिणाममा अप्रत्याशित मोड ल्याउन सक्ने आकलन गरिएको छ ।

सिन्धुलीमा देखिएको यो अवस्था केवल व्यक्तिगत असन्तुष्टि मात्र नभई दलहरूभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र कार्यकर्ताको सम्मानसँग जोडिएको विषय भएको स्थानीय नेताहरू बताउँछन् । आगामी दिनमा पार्टी नेतृत्वले यस असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्छ भन्ने कुराले जिल्लाको निर्वाचन परिणाम मात्र होइन, दलहरूको विश्वसनीयतामा पनि प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया