शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली बैंक लुटपाटका आरोपी कीर्तिपुरबाट पक्राउ

मंगलवार , माघ ६, २०८२

सिन्धुली,०६ माघ – सिन्धुली जिल्लामा केही समयअघि भएको बैंक लुटपाट घटनामा संलग्न रहेको आरोपमा एक व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् । घ्याङलेक गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंकमा भएको लुटपाट प्रकरणले जिल्लामा ठूलो तरंग सिर्जना गरिरहेका बेला प्रहरीले मुख्य आरोपितलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्ने व्यक्ति घ्याङलेक गाउँपालिका–२ का ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा गरिएको निगरानी र खोजतलासपछि उनी पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सिन्धुली ल्याइने छ । घटनामा संलग्न अन्य व्यक्ति तथा लुटिएको रकम र प्रयोग भएका सामग्रीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तामाङसहितको समूहले योजनाबद्ध रूपमा बैंक लुटपाट गरेको खुलेको छ ।

घटना २९ पुसको साँझ करिब साढे ७ बजेतिर भएको थियो । आरोपित समूहले खुकुरी देखाएर बैंकका सुरक्षागार्ड र कर्मचारीलाई त्रसित बनाउँदै नियन्त्रणमा लिएका थिए । त्यसपछि उनीहरूले बैंकभित्र रहेको नगद रकम लुटेर फरार भएका थिए । घटनापछि बैंक कर्मचारी र स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको थियो ।

लुटपाटको खबर सार्वजनिक भएलगत्तै प्रहरीले विशेष अनुसन्धान टोली परिचालन गरेको थियो । प्राविधिक विश्लेषण र स्थानीय सूचनाको आधारमा प्रहरीले आरोपीको पहिचान गर्दै खोजी अभियानलाई तीव्र बनाएको थियो । सोही अनुसन्धानको परिणामस्वरूप तामाङ कीर्तिपुरबाट पक्राउ पर्न सफल भएका हुन् ।

प्रहरीले बैंकिङ क्षेत्रको सुरक्षा थप कडा बनाउने र यस्ता आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरू छिट्टै पक्राउ पर्ने विश्वास पनि प्रहरी अधिकारीहरूले व्यक्त गरेका छन् ।

सिन्धुलीमा भएको यो बैंक लुटपाट घटनाले ग्रामीण क्षेत्रमा समेत संगठित अपराधको जोखिम बढ्दै गएको संकेत गरेको भन्दै स्थानीय तह र सुरक्षानिकायबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पु¥याएर दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया