सिन्धुली,०५ माघ – जेन्जी आन्दोलनको क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका ‘कर्तव्य ज्यान’ मुद्दाका कैदीलाई विशेष सूचनाको आधारमा सिन्धुली प्रहरीले सिन्धुलीको डकाहा बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।
इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमवार साँझ करिब ७ बजेर ४० मिनेटको समयमा अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार फरार कैदीलाई दुधौली नगरपालिकापा ४ डकाहा बजार क्षेत्रमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारिएको थियो ।
पक्राउ पर्ने व्यक्ति उदयपुर जिल्लाको कटारी नगरपालिका–११, लखनथुम्का बस्ने डिकबहादुर रानाका छोरा करिब ३० वर्षका बिनोद भन्ने रोशन राना मगर रहेका छन् । उनी ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय भोग्दै गर्दा २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए ।
प्रहरीका अनुसार फरार अभियुक्त लामो समयदेखि विभिन्न स्थानमा लुक्दै बस्दै आएको सूचनाका आधारमा निगरानी तीव्र पारिएको थियो। सोही क्रममा डकाहा बजार क्षेत्रमा उनको उपस्थितिबारे प्राप्त गोप्य सूचनापछि प्रहरी टोली सक्रिय भई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
हाल अभियुक्तलाई इलाका प्रहरी कार्यालय डकाहाको हिरासतमा राखिएको छ । प्रारम्भिक सोधपुछपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ । साथै, सिन्धुली कारागारसँग आवश्यक समन्वय गरी कानुन बमोजिमको प्रक्रिया पूरा गरेर अभियुक्तलाई सम्बन्धित निकायमा बुझाइने तयारी भइरहेको बताइएको छ ।
सुरक्षा निकायले गम्भीर अपराधमा संलग्न भई फरार रहेका अभियुक्तहरूलाई खोजी तथा पक्राउ गर्ने अभियानलाई अझ सशक्त बनाइने जनाएको छ। प्रहरीले अपराध नियन्त्रण र कानुनको कार्यान्वयनमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
स्थानीय बासिन्दाहरूले लामो समयदेखि फरार अभियुक्त पक्राउ पर्नु शान्ति–सुरक्षाको दृष्टिले सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् । प्रहरीको सक्रियता र सूचनामा आधारित कारबाहीले अपराध नियन्त्रणमा विश्वास बढाएको उनीहरूको भनाइ छ ।