शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली आगजनी हत्याः सासु र नन्द कारागार चलान

आइतवार , माघ ४, २०८२

सिन्धुली,०४ माघ – कमलामाई नगरपालिका–४ धुराफाँटमा एक महिलामाथि पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको जघन्य घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ ।

गत पुस ६ गते कमलामाई नगरपालिका–४ स्थित आफ्नै घरभित्र ३२ वर्षीया सुशिला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको घटनाले जिल्लामा ठूलो तरंग सिर्जना गरेको थियो । घटनालगत्तै प्रहरीले मृतककी सासु मायाँरानी बम्जन र नन्द मिना लामा (बम्जन) लाई संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा घटनामा पारिवारिक विवाद र घरेलु तनावको पृष्ठभूमि रहेको देखिएको जनाइएको छ । प्रारम्भिक बयान, घटनास्थलको अवस्था तथा संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो ।

मुद्दामाथि सुनुवाइ गर्दै सिन्धुली जिल्ला अदालतले अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि आइतवारनैै दुवै जनालाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस घटनापछि मृतक सुशिलाको न्यायका लागि पीडित परिवार तथा स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका थिए । महिलामाथि भएको यस्तो अमानवीय घटनाले समाजमा गम्भीर प्रश्न उठाएको भन्दै मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरूले समेत चिन्ता व्यक्त गरेका छन् ।

स्थानीयवासीका अनुसार सुशिला सामान्य पारिवारिक जीवन बिताइरहेकी महिला थिइन् । घरभित्रै भएको विवादले यसरी भयावह रूप लिने कल्पनासमेत नगरेको उनीहरू बताउँछन् । घटनाले पारिवारिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयन र सामाजिक सचेतनाको आवश्यकता अझै बढाएको छ ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ । मुद्दा अदालतमा विचाराधीन रहेकाले अनुसन्धानबाट प्राप्त नयाँ तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया