शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

के सिन्धुली क्षेत्र नं. २ बाट कृष्ण मुरारी गुरुङलाई काँग्रेसले अघि सार्ला ?

आइतवार , माघ ४, २०८२

सिन्धुली,०४ माघ – सिन्धुलीमा आउँदो संघीय निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । विशेषगरी सिन्धुली क्षेत्र नं. २ बाट नेपाली काँग्रेसको तर्फबाट कृष्ण मुरारी गुरुङ लाई उम्मेदवार बनाउने चर्चा पछिल्ला दिनमा व्यापक रूपमा फैलिएको छ ।

काँग्रेसका युवा नेता गुरुङलाई स्थानीय तहमा चासोका साथ हेरिएको छ । उनी पार्टीभित्र मात्र होइन, सर्वसाधारणबीच पनि जनताको दुःख–सुःख बुझ्ने, पहुँचयोग्य र सक्रिय नेताका रूपमा चिनिन्छन् । स्थानीय विकास, युवा सहभागिता र समावेशी प्रतिनिधित्वका विषयमा उनी स्पष्ट धारणा राख्दै आएका छन् ।

गुरुङलाई नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा निकट नेताका रूपमा पनि चिनिन्छ । पछिल्लो समय गगन थापा नेपाली काँग्रेसको सभापति बनेपछि पार्टीभित्र युवा पुस्तालाई अवसर दिनुपर्छ भन्ने बहस थप चर्किएको छ । यही सन्दर्भमा सिन्धुलीमा पनि ‘युवालाई टिकट’ भन्ने आवाज बलियो हुँदै गएको देखिन्छ ।

सिन्धुली क्षेत्र नं. २ जनजाति बहुल क्षेत्र भएकाले काँग्रेसबाट जनजाति समुदायका प्रतिनिधिलाई उम्मेदवार बनाउँदा सकारात्मक प्रभाव पर्न सक्ने स्थानीयको बुझाइ छ । यही कारण गुरुङको सम्भावित उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसैबीच, काँग्रेसको आन्तरिक राजनीतिमा टिकट वितरणलाई लिएर नयाँ समिकरण देखिएको छ । स्रोतका अनुसार सिन्धुली क्षेत्र नं. २ बाट गगन थापा पक्षका तीन जनाको नाम सिफारिस परेपछि संस्थापन र इतर समूहलाई सन्तुलन मिलाएर टिकट दिनुपर्ने दबाब बढेको छ । यही कारण क्षेत्र नं. २ बाट देउवा पक्षका रूपमा कृष्ण मुरारी गुरुङको नाम अघि सारिने सम्भावना बलियो बनेको काँग्रेस वृत्तको बुझाइ छ ।

उता, सिन्धुली क्षेत्र नं. १ मा भने गगन थापा पक्षका उज्ज्वल बराल र शेखर कोइराला पक्षका मोहन बराल बीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै नेताले टिकट पाउन संगठनभित्र सक्रिय लबिङ गरिरहेका छन् भने अन्तिम निर्णयले क्षेत्र नं. १ को राजनीतिक दिशा तय गर्ने देखिन्छ ।

काँग्रेसभित्रका नेताहरूका अनुसार स्थानीय धरातल बुझ्ने, संगठनमा पकड भएका र स्वीकार्यता भएका उम्मेदवारलाई अघि सार्न सके चुनावी परिणाममा फाइदा पुग्ने विश्वास छ । यद्यपि उम्मेदवारीको अन्तिम निर्णय पार्टी नेतृत्व र केन्द्रीय टिकट वितरण प्रक्रियाले गर्ने भए पनि सिन्धुलीको राजनीतिक माहोलले यसपटक फरक संकेत दिएको छ ।

गुरुङलाई लिएर चलेको चर्चा केवल हल्ला मात्र हो कि वास्तविक सम्भावनाको संकेत,यो भने आगामी दिनमा काँग्रेसको औपचारिक निर्णयसँगै स्पष्ट हुनेछ । तर एक कुरा भने निश्चित देखिन्छ,सिन्धुलीको संघीय चुनाव यसपटक रोचक मोडमा प्रवेश गरिसकेको छ ।

क्बनगल

प्रतिक्रिया