शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

पुरानै अनुहार, नयाँ समीकरणः सिन्धुलीको चुनाव किन यसपटक निर्णायक बन्दैछ ?

आइतवार , माघ ४, २०८२

सिन्धुली,०४ माघ —आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुलीको राजनीतिक माहोल फेरि तातिएको छ । अघिल्ला निर्वाचनका परिचित अनुहारहरू नै पुनः चुनावी मैदानमा देखिए सँगै, यसपटकको प्रतिस्पर्धा झन् रोचक र अनिश्चित बन्दै गएको छ । मुख्य दलहरूले पुरानै उम्मेदवारलाई दोहोर्याउने रणनीति अपनाउँदा, बदलिँदो राजनीतिक समीकरण र नयाँ शक्तिको उदयले नतिजा अनुमान गर्न कठिन बनाएको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनको बलियो समीकरणबीच एक्लै मैदानमा उत्रिएको एमाले सिन्धुलीमा करिब६ हजार मतको झिनो अन्तरले पराजित भएको थियो । त्यो मतान्तरलाई आधार मान्दा, एमालेका उम्मेदवार कमजोर नभएको विश्लेषण हुँदै आएको छ । यसै सन्दर्भमा एमालेले पराजित भइसकेका उम्मेदवारलाई नै पुनः टिकट दिएको निर्णयलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरेको छ ।

यसपटकको चुनावी गणित भने अघिल्लोपटकभन्दा फरक देखिन्छ । काँग्रेस र माओवादीबीच पहिलेजस्तो बलियो गठबन्धन बन्ने सम्भावना न्यून देखिँदैछ । त्यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रिय उपस्थितिले परम्परागत दलहरूको मताधारमा प्रभाव पार्ने आकलन गरिएको छ । विशेषगरी शहरी र शिक्षित मतदातामाझ नयाँ दलको आकर्षणले कांग्रेस र माओवादी दुवैको मत विभाजन हुन सक्ने अनुमान छ ।

यता माओवादी केन्द्रबाट पनि अघिल्लै उम्मेदवार दोहोरिने संकेत देखिएको छ भने काँग्रेसले समेत नयाँ अनुहारभन्दा स्थापित नेतामै भरोसा गर्ने सम्भावना बलियो छ । तीनै ठूला दलबाट पुरानै अनुहार दोहोरिन सक्ने अवस्थाले सिन्धुलीको निर्वाचनलाई व्यक्तित्व, विचार र स्थानीय प्रभावको प्रतिस्पर्धामा रूपान्तरण गरेको छ ।

सिन्धुली क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार बन्ने तयारीमा रहेका मनोज जंग थापा कूटनीतिक अनुभव, बौद्धिक क्षमता र नीतिगत सोचका कारण चर्चामा छन् । इन्जिनियरिङ पृष्ठभूमिसहित विचार, मूल्य र मानकमा आधारित राजनीतिमार्फत समाजको प्रगतिशील रूपान्तरण गर्ने उनको दाबी छ । संसदमार्फत कूटनीतिक तथा विकासका समस्यालाई नीतिगत समाधानतर्फ लैजाने दृष्टिकोणले उनलाई फरक बनाउने राजनितिक बिश्लेषकहरूको भनाइ छ ।

त्यसैगरी, सिन्धुली क्षेत्र नम्बर १ मा प्रदीप कटुवाललाई गाउँ–गाउँका समस्या बुझ्ने, विकासलाई प्राथमिकतामा राख्ने नेताका रूपमा हेरिन्छ । बाटो, बिजुली, खानेपानी, शिक्षा र क्याम्पस विस्तारलाई मुख्य एजेन्डा बनाउँदै आएका कटुवाल स्थानीय स्तरमै निरन्तर उपस्थित रहने नेताका रूपमा परिचित छन् ।

अघिल्लो निर्वाचनको मतान्तर, कमजोर बन्दै गएको गठबन्धन राजनीति र नयाँ दलको उदय—यी सबै कारकले सिन्धुलीको यसपटकको निर्वाचनलाई अत्यन्त प्रतिस्पर्धात्मक बनाएको छ । अन्ततः नतिजा कसको पक्षमा जान्छ भन्ने प्रश्नले मात्र होइन, सिन्धुलीले कस्तो राजनीतिक दिशानिर्देश रोज्छ भन्ने बहसले पनि चासो बढाएको छ ।

प्रतिक्रिया