शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एक लिटर पानीको मूल्य १३ लाखभन्दा बढी

शनिवार , माघ ३, २०८२

पानी जीवनको आधार हो । हरेक दिन सजिलै पाइने यही पानी एक लिटरका लागि लाखौँ रुपैयाँ तिर्ने कुरा सुन्दा जो–कोही अचम्ममा पर्न सक्छ । तर जापानमा यस्तो पानी पनि छ, जसलाई स्वाद वा तिर्खा मेटाउने साधनभन्दा बढी ‘विलासिता र पहिचान’ का रूपमा किन्ने गरिन्छ ।

सन् २००५ मा बजारमा आएको Fillico Jewelry Water ले साधारण मिनरल वाटरलाई अल्ट्रा–लक्जरी वस्तुमा रूपान्तरण गरेर विश्वकै महँगो पानी ब्रान्डमध्ये आफ्नो नाम स्थापित गरेको छ । फिलिकोले उत्पादन गर्ने पानीको मूल्य एक लिटरकै हजारौँदेखि दसौँ हजार डलरसम्म पर्छ । सीमित संस्करणका बोतल त नेपाली रुपैयाँमा १३ लाखभन्दा बढीमा पनि बिक्री हुन्छन् ।

फिलिकोको पानी जापानको कोबे प्रिफेक्चरस्थित रोक्कोउ नेशनल पार्कभित्र पर्ने नुनोबिकी झरनाबाट सङ्कलन गरिन्छ । यो क्षेत्र औद्योगिक प्रदूषणबाट टाढा रहेको छ र यहाँको पानी शुद्धता तथा खनिज तत्वका कारण प्रसिद्ध मानिन्छ । ज्वालामुखीबाट बनेका चट्टान हुँदै प्राकृतिक रूपमा फिल्टर भएर आउने पानी भएकाले यसको स्वाद ताजा र सफा हुने कम्पनीको दाबी छ । पानीको मौलिक स्वाद जोगाइराख्न न्यूनतम प्रशोधन मात्र गरिन्छ ।

तर फिलिकोको महँगोपनको मुख्य कारण पानी मात्र होइन । यसको बोतल आफैँमा एउटा कलाकृति हो । प्रत्येक बोतल हातैले सजाइन्छ । स्वारोभस्की क्रिस्टल, सुन र आकर्षक डिजाइनले सजिएका यी बोतलहरू पानी राख्ने साधनभन्दा बढी ‘स्टाटस सिम्बोल’ का रूपमा प्रस्तुत गरिन्छन् । यही कारण फिलिकोका ग्राहक पानीभन्दा पनि बोतलको सौन्दर्य र ब्रान्डको पहिचानका लागि पैसा खर्च गर्ने गर्छन् ।

सुरुआती दिनमा पानीलाई विलासी वस्तु बनाएको भन्दै कम्पनीले आलोचना पनि खेप्नुप¥यो । तर कम्पनीका निर्माताहरू अल्ट्रा–लक्जरी बजारमा पानीको पनि स्थान हुनेमा विश्वस्त थिए । स्थापना भएको एक वर्षमै विश्वप्रसिद्ध फेसन ब्रान्ड क्रिश्चियन डियोरले आफ्ना भीआईपी ग्राहकहरूलाई फिलिको वाटर उपहारस्वरूप वितरण गरेपछि यसको चर्चा झन् बढ्यो । त्यसपछि यो ब्रान्ड शाही परिवार, धनी उद्योगपति र लक्जरी सामग्री संकलकहरूबीच लोकप्रिय बन्न पुग्यो ।

हातैले सजावट गरिनुपर्ने भएकाले फिलिकोले महिनामा करिब पाँच हजार बोतल मात्र उत्पादन गर्छ । सामान्य संस्करणको मूल्य एक हजार डलरबाट सुरु हुन्छ भने सीमित संस्करणका बोतल दस हजारदेखि एक लाख डलरसम्ममा पनि बजारमा आउने गरेका छन् । साधारण देखिने पानीलाई विश्वकै महँगो विलासी वस्तु बनाइदिएको फिलिकोको कथा आज उपभोक्ता संस्कृतिको रोचक उदाहरण बनेको छ ।

प्रतिक्रिया