शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नख्खु कारागारबाट फरार कैदी सिन्धुलीमा पक्राउ

शनिवार , माघ ३, २०८२

 

सिन्धुली०३ माघ – — कर्तव्य ज्यान र कैदीबन्दी भगाएको अभियोगमा फरार रहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी रणबहादुर भुजेलका छोरा ४२ वर्षीय सिताराम भुजेललाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । अदालतबाट २८ वर्ष १० महिना ४ दिनको कैद सजाय सुनाइएका उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला जेन्जी आन्दोलनको समयमा फरार भएका थिए ।

प्रहरीका अनुसार सिताराम भुजेल लामो समयदेखि विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । फरार अभियुक्तको खोजी तथा निगरानीका क्रममा प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिन सफल भएको हो । उनलाई समयमा सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोक नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज थापाको नेतृत्वमा खटिएको टोलीले सावधानीपूर्वक अपरेसन सञ्चालन गरी भुजेललाई पक्राउ गरेको हो । पक्राउपछी उनलाई आवश्यक स्वास्थ्य परीक्षण गराई थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण पश्चात उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार सिताराम भुजेल अदालतबाट दोषी ठहर भई लामो कैद सजाय भोगिरहेका व्यक्ति भएकाले उनको पक्राउलाई सुरक्षा निकायले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । फरार कैदी पुनः पक्राउ पर्नु कानूनको कार्यान्वयन र न्यायिक प्रक्रियाको सफलताका रूपमा हेरिएको प्रहरीको भनाइ छ ।

स्थानीयवासीहरूका अनुसार लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ पर्नुले क्षेत्रको शान्ति सुरक्षा मजबुत भएको अनुभूति भएको छ । यस्ता गम्भीर अपराधमा संलग्न व्यक्ति कानूनको दायराबाट उम्किन नसक्ने सन्देश गएको उनीहरूको प्रतिक्रिया छ ।

प्रहरीले फरार अभियुक्त तथा कैदीहरूको खोजी अभियानलाई निरन्तरता दिने जनाएको छ। कानून उल्लङ्घन गर्ने जो–कोही भए पनि अन्ततः न्यायिक प्रक्रियामा ल्याइने र अदालतको फैसला कार्यान्वयन गरिने प्रतिबद्धता प्रहरीले दोहोर्याएको छ ।

प्रतिक्रिया