सिन्धुली,०२ माघ – सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित दुधौली बजार नजिकैको दुधौली–खोरभञ्ज्याङ भित्री सडकखण्डमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाइएको छ ।
प्रहरीका अनुसार शुक्रवार करिब ३ः४० बजेको समयमा दुधौलीबाट खोरभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ८५४७ नम्बरको मिनी टिपर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००२ प १३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । मिनी टिपर दुधौली नगरपालिका–१३ बस्ने बर्ष ४४ का राजकुमार सुनुवारले चलाइरहेका थिए भने मोटरसाइकल दुधौली नगरपालिका ८ बस्ने बर्ष ५५का टिका सिंह तामाङले चलाइरहेका थिए ।
ठक्करपश्चात मोटरसाइकल चालक तामाङ सडकमा लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमै रहेका स्थानीयले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि दुधौली नगर अस्पताल, सिर्थौली पठाएका थिए । प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेको र उपचारमा उनकी श्रीमती समेत संलग्न रहेको छ ।
घटनाबारे स्थानीयबाट करिब ३ः५० बजे सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको दुधौली प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक कलम बहादुर शाहीको कमाण्डमा चार जनाको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली करिब ३ः५५ बजे घटनास्थलमा पुगेर दुर्घटनामा संलग्न मिनी टिपर, मोटरसाइकल र दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीव्र गति वा लापरवाही कारण हुनसक्ने आशंका गरिएको भए पनि विस्तृत अनुसन्धानपछि मात्र वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ । दुर्घटनास्थलमा सडक साँघुरो र बजार क्षेत्र भएकाले सवारी आवागमनमा सावधानी आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।
यसअघि पनि उक्त भित्री सडकखण्डमा सवारी दुर्घटना हुने गरेको भन्दै स्थानीयले गति नियन्त्रण, ट्राफिक संकेत र निगरानी बढाउन माग गर्दै आएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।