सिन्धुली,०२ माघ — सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित बैंक शाखामा भएको सनसनीपूर्ण डकैती प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकै शान्त क्षेत्र मानिने घ्याङलेखमा दिनदहाडै भएको यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
गत पुस २९ गते साँझ करिब ७ः३० बजे योजनाबद्ध ढंगले बैंकभित्र प्रवेश गरेका डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेका थिए । खुकुरी देखाएर धम्क्याउँदै गार्ड र कर्मचारीका हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको प्रहरीले जनाएको छ । प्रतिकारको प्रयास गर्दा सुरक्षा गार्डमाथि खुकुरी प्रहारसमेत भएको थियो, जसबाट उनी सामान्य घाइते भएका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा कर्मचारी र गार्ड दुई छुट्टाछुट्टै कोठामा बाँधिएको अवस्थामा फेला परेका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचार र सुरक्षाको व्यवस्था मिलाइएको थियो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरी उपरीक्षकको कमाण्डमा ५० जनाको विशेष टोली परिचालन गरी सम्भावित नाकाहरूमा कडा निगरानीसहित खोजतलास तीव्र पारिएको थियो ।
खोजतलासकै क्रममा घटनास्थलबाट करिब सात किलोमिटर पूर्व लिपिखोलामा बि ए डि ०३९८ नम्बरको टाटा सुमो र चालक भगवत सिंह थापा फेला परे । प्रारम्भिक सोधपुछमा बनेपाबाट विवाहको प्रयोजन भन्दै सवारी रिजर्भ गरिएको खुलेपछि चालकलाई नियन्त्रणमा लिइयो । त्यसै राति जंगलका विभिन्न स्थानमा बोरा र झोलाभित्र लुकाइएको १ करोड ५० लाखभन्दा बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो दिन थप चार जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अन्य लुकाइएको रकमसमेत बरामद गरिएको थियो । अनुसन्धानबाट घटनामा स्थानीय दुई जनाले योजनाकारको भूमिका खेलेको खुलेको छ । प्रहरीका अनुसार घटनाको योजनाकारका रूपमा घ्याङलेखकै छविलाल स्याङ्तान र सुरुमान बज्यूको संलग्नता खुलेको छ । प्रारम्भिक बयान र प्राविधिक विश्लेषणका आधारमा छविलाल स्याङ्तानलाई धरानबाट पक्राउ गरिएको थियो भने चतुरमान बज्जुलाई घ्याङलेख–२ को जंगल क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूले असोज महिनादेखि नै बैंकको गतिविधि, सुरक्षा व्यवस्था र रकमको अवस्थाबारे जानकारी संकलन गर्दै आएको प्रहरीको भनाइ छ ।
पक्राउपर्नेमा जिल्ला काभ्रेपलाञ्चोक, साविक उपत्यारा जगन्नाथ गा.वि.स. वडा नं. २ घर भई हाल हालः बनेपा नगरपालिका वडा नं. १० बस्ने सवारी चलक भगवत सिंह थापा, जिल्ला सिन्धुली, घ्याङलेख गाउँपालिका वडा नं. २ बस्ने चतुरमान बज्जु , जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. २ बस्ने शशांक श्रेष्ठ, जिल्ला नुवाकोट, पंचकन्या गाउँपालिका वडा नं. ५ बस्ने मिलन गिरी, विवेक मगर, जिल्ला सिन्धुली, घ्याङलेख गाउँपालिका वडा नं. २ बस् छविलाल स्याङ्तान र एक जना १६ बर्षको नाबालक भएकाले नाम गोप्य राखिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैय नगद गद, २ थान खुकुरी, नक्कली प्लाष्टिकको पेस्तोल १ थान , मोबाइल ५ थान , नकाब र अन्य सामग्री नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको छ भने घटनाले संगठित अपराधविरुद्ध सतर्क रहनुपर्ने सन्देश दिएको छ ।