सिन्धुली,३० पुस –सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुरस्थित हायुटारमा रहेको एसबीआई बैंक शाखामा सशस्त्र समूहले लुटपाट गरेको घटनाले जिल्लामा सनसनी मच्चाएको छ । मंगलवार साँझ करिब ८ः४० बजे पाँच–छ जनाको समूह बैंक परिसरमा प्रवेश गरी योजनाबद्ध रूपमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार लुटेराहरूले सबैभन्दा पहिले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएका थिए । उनीमाथि खुकुरी प्रहारसमेत गरिएको थियो, जसबाट कार्की सामान्य घाइते भएका छन् । त्यसपछि लुटेराहरूले बैंकभित्र रहेका कर्मचारीहरूलाई नियन्त्रणमा लिँदै नगद संकलन गरेका थिए । घटनाका क्रममा बैंकमा रहेको करिब ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेराहरूले बोकेर फरार भएका थिए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले तीव्र खोजतलास सुरु गरेको थियो । अनुसन्धानका क्रममा लुटेराहरूले प्रयोग गरेको सवारीसाधन र सम्भावित मार्ग पहिचान गर्दै जाँदा उल्लेख्य सफलता हात लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक खोजतलासमै लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला पारेर बरामद गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको भनिएको BAD ०३९८ नम्बरको टाटा सुमो जीप नियन्त्रणमा लिएको छ । उक्त सवारीसाधन बनेपाबाट रिजर्भ गरिएको खुलेको छ । साथै, सुमोका चालक भवत सिंह थापालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । चालकको संलग्नता कति हदसम्म रहेको भन्ने विषयमा सोधपुछ भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार लुटेराहरूको समूह अझै फरार रहेको र उनीहरूको पहिचान तथा पक्राउका लागि विशेष टोली परिचालन गरिएको छ । सम्भावित नाकाहरूमा कडाइ गरिएको छ भने जिल्लाबाहिर समेत समन्वय गरेर खोजतलास तीव्र पारिएको छ । घटनासम्बन्धी थप प्रमाण संकलन, र शंकास्पद व्यक्तिहरूको निगरानीसमेत भइरहेको प्रहरीले जनाएको छ ।