शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

फरार अभियुक्त युवती पक्राउ

सोमवार , पौष २८, २०८२

सिन्धुली – अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दामा वारदातपछि फरार रहेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरी थप अनुसन्धानका लागि महोत्तरी पठाएको छ ।

प्रहरीका अनुसार आइतवार अपराह्न करिब २ः३० बजे कमलामाई नगरपालिका–६ अन्तर्गतको सार्वजनिक सडकमा हिँडिरहेको अवस्थामा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ निवासी पूर्णबहादुर विश्वकर्माकी १९ वर्षीया छोरी मनिषा विश्वकर्मा रहेको जिल्ला प्रहरी कर्यालय सिन्धुलीले जनाएको छ ।

उक्त युवतीमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी गम्भीर अभियोगमा मुद्दा दर्ता भई घटनापछि लामो समयदेखि फरार रहँदै आएको थियो । प्रहरीका अनुसार उनलाई पक्राउ गरी तत्काल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई आवश्यक प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप प्रमाण संकलन तथा विस्तृत बयान आवश्यक पर्ने देखिएपछि कानुनी प्रक्रिया पूरा गरी उनलाई इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको हो । प्रहरीका अनुसार घटनाको प्रकृति संवेदनशील र गम्भीर रहेकाले थप अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया