सिन्धुली,१६ पुस – शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यका साथ सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोकका सुरक्षा निकायबीच अन्तर–जिल्ला सुरक्षा समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । जिल्लाको सीमाना जोडिने क्षेत्रमा बढ्दो आपराधिक गतिविधि, सवारी दुर्घटना, लागुऔषध कारोबार तथा आगामी निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै तीनै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूले संयुक्त रणनीति अवलम्बन गर्ने निर्णय गरेका हुन् ।
सिन्धुलीको मुल्कोटमा सम्पन्न अन्तर–जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन सुरक्षा, सडक सुरक्षा, विपद् व्यवस्थापन तथा विकास निर्माणसँग सम्बन्धित विषयमा गहन छलफल गर्दै साझा निर्णयहरू गरेको हो । बैठकमा समसामयिक सुरक्षा चुनौती, अन्तर–जिल्ला आवतजावतसँग जोडिएका गतिविधि र सीमाक्षेत्रका समस्या प्राथमिकतामा राखिएको थियो ।
बैठकले जिल्लाहरूमा सु–शासन र सेवा प्रवाहलाई सुदृढ बनाउँदै सामाजिक विकृति, विसंगति र गैरकानुनी क्रियाकलाप न्यूनीकरणका लागि निरन्तर समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ । विशेषगरी अपराध नियन्त्रणमा सूचनाको आदान–प्रदान, संयुक्त गस्ती तथा आकस्मिक सुरक्षा चेकजाँचलाई नियमित बनाउने निर्णय गरिएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमाना जोडिएका क्षेत्रहरूमा संयुक्त सुरक्षा रणनीति लागू गरिने भएको छ । निर्वाचन सुरक्षामा प्रभाव पार्न सक्ने गतिविधि, सम्भावित अवाञ्छित तत्व तथा असामाजिक क्रियाकलापको सूक्ष्म निगरानी गर्दै आवश्यकता अनुसार अन्तर–जिल्ला समन्वयलाई निरन्तरता दिने सहमति बैठकले गरेको छ ।
त्यसैगरी, देशका विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीको खोजी, अवैध हातहतियार नियन्त्रण तथा संविधानविरोधी गतिविधिमा संलग्न समूहको अन्तर–जिल्ला चलायमानतामाथि निगरानी बढाइने निर्णय भएको छ । जातीय, क्षेत्रीय तथा धार्मिक आवरणमा भइरहेका सम्भावित अस्थिरता सिर्जना गर्ने गतिविधिबारे सुरक्षा निकायबीच नियमित सूचना आदान–प्रदान गर्ने सहमति गरिएको छ ।
बैठकले अवैध तथा जबर्जस्ती चन्दा संकलन, दुष्प्रचार, सर्वसाधारणलाई धम्क्याउने तथा प्रलोभनमा पार्ने किसिमका आराजक गतिविधि नियन्त्रणका लागि संयुक्त पहल आवश्यक रहेको ठहर गरेको छ । यस्ता गतिविधि नियन्त्रणमा सुरक्षा निकायको सक्रियता र समन्वयलाई थप मजबुत बनाइने जनाइएको छ ।
लागुऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रण बैठकको अर्को प्रमुख एजेन्डा बनेको थियो। जिल्लाका प्रवेश तथा प्रस्थान विन्दुहरूमा सवारीसाधन चेकजाँच कडा बनाउने र लागुऔषध कारोबारसँग जोडिएका सूचनाहरू एकअर्का जिल्लाबीच तत्काल साटासाट गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार बिपी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गमा बढ्दो सवारी चाप, अत्यधिक गति र जोखिमयुक्त स्थानका कारण दुर्घटनाको सम्भावना बढ्दै गएको छ । त्यसलाई न्यूनीकरण गर्न यात्रुवाहक सवारीसाधनको नियमित अनुगमन, ट्राफिक व्यवस्थापन, दुर्घटनापछिको उद्धार कार्यमा आपसी समन्वयलाई प्रभावकारी बनाइनेछ ।
सार्वजनिक सवारीसाधनको हकमा राजमार्गमा निर्धारण गरिएको समयसीमा पालना गराउने र विकास निर्माणका क्रममा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, बाढी, पहिरो, आगलागी जस्ता विपद्जन्य घटनाको तत्काल खोज, उद्धार र प्रतिकार्यका लागि अन्तर–जिल्ला स्रोतसाधन परिचालनलाई निरन्तरता दिइनेछ । विपद् व्यवस्थापनमा असल अभ्यासहरूको नियमित आदान–प्रदान गर्दै सुरक्षा समन्वयलाई अझ प्रभावकारी बनाउने बैठकको निष्कर्ष रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
अन्तर–जिल्ला सुरक्षा समन्वय बैठक आवश्यकताअनुसार हरेक वर्ष आयोजना हुँदै आएको र यसले सीमाक्षेत्रको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।