शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दुधौलीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार , पौष १६, २०८२

सिन्धुली,१६ पुस - सिन्धुलीको दुधौली नगरपालिकामा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मदन–भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–४ कमलाखोचमा कुरियर लोड पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मिति २०८२ पौष १६ गते बिहान करिब ७ः३० बजे काठमाडौंबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४२५ नम्बरको पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो। गाडी झापा जिल्लाको सिवसतासी नगरपालिका–७ घर भएका २९ वर्षीय अभिषेक अधिकारीले चलाएका थिए।

दुर्घटनामा दुधौली नगरपालिका–१ गिजिह्यानी निवासी करिब ६०–६५ वर्षीय मोहन धामी गम्भीर घाइते भएका थिए। ठक्करबाट उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि स्थानीय कमलाखोच अस्पताल पु¥याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि नगर अस्पताल सिर्थौली रिफर गरिएको थियो।

नगर अस्पताल सिर्थौलीमा उपचाररत धामीलाई बिहान करिब ८ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनापछि स्थानीयवासी घटनास्थलमा भेला भएका थिए भने राजमार्गमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो।

प्रहरीका अनुसार ठक्कर दिने पिकअप गाडी र चालकलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

मदन–भण्डारी राजमार्गमा पछिल्लो समय सवारी चाप बढ्दै गएकाले पैदलयात्रीको सुरक्षामा ध्यान दिन आवश्यक रहेको स्थानीयको भनाइ छ। तीव्र गतिको सवारी र सुरक्षात्मक संरचनाको अभावले दुर्घटनाको जोखिम बढाएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया