सिन्धुली,१६ पुस – मरिण गाउँपालिका–६ भुताहास्थित मदन भण्डारी राजमार्गमा मरिण महोत्सव हेरेर घर फर्कने क्रममा अटोबाट खस्दा एक युवक घाइते भएका छन् । मंगलवारराति करिब ११ः२० बजे भएको दुर्घटनामा हरिहरपुरगढी गाउँपालिका–५ मुराजोरलेख निवासी १८ वर्षीय रमेश बल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार रमेश बल म.प्र. ०३–००१ ह १५१९ नम्बरको अटोमा सवार थिए । उक्त अटो जिल्ला सिन्धुली हरिहरपुरगढी गाउँपालिका–५ का २३ वर्षीय लालबहादुर गोलेले चलाइरहेका थिए । महोत्सव हेरेर फर्कने क्रममा अचानक सन्तुलन बिग्रँदा रमेश अटोबाट खसेर घाइते भएका हुन् । दुर्घटनामा उनको टाउको र चिउँडोमा चोट लागेको छ । स्वास्थ्यकर्मीले घाइतेको अवस्था मध्यम रहेको बताएका छन् ।
घाइते रमेशलाई तत्कालै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पुर्याई सामान्य उपचार गरिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि अटो चालक लालबहादुर गोले फरार रहेको प्रहरीले जनाएको छ । घटनापछि अटो भने प्रहरी चौकी महेन्द्रझ्याडीको नियन्त्रणमा लिइएको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटका अनुसार फरार चालकको खोजी कार्य तीव्र पारिएको छ। घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको र चालक फेला परेपछि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। महोत्सवजस्ता भीडभाड हुने कार्यक्रमपछि सवारी साधनमा अत्यधिक यात्रु बोक्ने र लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने गरेको स्थानीयको भनाइ छ ।
स्थानीयवासीले महोत्सव तथा सार्वजनिक कार्यक्रम सकिएपछि सवारी व्यवस्थापनमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् । यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी सवारी साधनको क्षमता अनुसार मात्र यात्रु बोक्ने, रातिको समयमा विशेष सतर्कता अपनाउने र ट्राफिक निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।
प्रहरीले यात्रुलाई सुरक्षित यात्रा गर्न आग्रह गर्दै चालकलाई सवारी नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।