शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा पाँच महिनामै ६८ सवारी दुर्घटना, ११ जना मृत्यू

मंगलवार , पौष १५, २०८२

सिन्धुली,१५ पुस – सिन्धुली जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै ६८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ११ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्यांकले जिल्लामा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक बन्दै गएको देखाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने सबै ११ जना पुरुष रहेका छन् । महिनागत विवरण हेर्दा साउन महिनामा १ जनाको मृत्यु भएको छ भने भदौमा ३ जनाले ज्यान गुमाएका छन् । यस्तै असोजमा १, कार्तिकमा सबैभन्दा धेरै ५ र मंसिर महिनामा १ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलीम अन्जुमले जानकारी दिए ।

दुर्घटनाको संख्याको हिसाबले हेर्दा असोज महिना सबैभन्दा जोखिमपूर्ण देखिएको छ । सो महिनामा मात्रै २० वटा सवारी दुर्घटना भएका छन् । त्यसैगरी भदौमा १५, कार्तिकमा १३, साउन र मंसिर महिनामा समान १०–१० वटा दुर्घटना भएका छन् । पाँच महिनाको अवधिमा भएका यी दुर्घटनामा २८ जना गम्भीर घाइते भएका छन् भने १२५ जना सामान्य घाइते भएका छन् ।

प्रमुख अन्जुमका अनुसार घाइते हुनेको संख्या अघिल्लो वर्षको तुलनामा केही घटे पनि दुर्घटनाको समग्र संख्या भने घट्न सकेको छैन । “सडक प्रयोगकर्ताको लापरवाही, तीव्र गति, मदिरा सेवन तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाको मुख्य कारण देखिन्छ,” उनले भने ।

सिन्धुली जिल्लामा बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग गरी तीन प्रमुख राजमार्ग रहेका छन् । यीमध्ये बिपी राजमार्गमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । लामो दूरी, साँघुरा मोड, उच्च गतिको सवारी साधन र चालकको असावधानीले दुर्घटनाको जोखिम बढाएको बताइन्छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम, चेकजाँच र निगरानीलाई तीव्र बनाएको जनाएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाभर एक वर्षमा २०५ वटा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको थियो । चालु वर्षको प्रारम्भिक पाँच महिनाकै अवस्था हेर्दा दुर्घटना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया