सिन्धुली ,१२ पुस – नेपालको ऐतिहासिक पहिचान बोकेको सिन्धुलीगढी पछिल्लो समय प्रमुख पर्यटकिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको सिन्धुलीगढी युद्धको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले निर्माण गरिएको सिन्धुलीगढी युद्ध संग्रहालय ले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ ।
वि.सं. १८२४ मा गोर्खाली सेनाले इस्ट इन्डिया कम्पनीका शक्तिशाली फौजलाई पराजित गरेको ऐतिहासिक स्थलका रूपमा परिचित सिन्धुलीगढी नेपाली इतिहासमा स्वाभिमान र साहसको प्रतीक मानिन्छ । यही ऐतिहासिक गौरवलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले स्थापना गरिएको युद्ध संग्रहालयले इतिहासप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकलाई एकैसाथ आकर्षित गरेको स्थानीयवासी बताउँछन् ।
संग्रहालयभित्र सिन्धुलीगढी युद्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, हतियार, युद्धका रणनीति, चित्र, मूर्ति तथा जानकारीमूलक सामग्रीहरू व्यवस्थित रूपमा राखिएका छन् । ती सामग्रीले तत्कालीन युद्ध परिस्थिति, गोर्खाली सेनाको रणनीतिक कुशलता र देशरक्षाका लागि गरिएको संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्छन्। संग्रहालय अवलोकन गर्ने जो–कोहीलाई राष्ट्रप्रेम र इतिहासप्रति सम्मानको भावना जागृत हुने गर्छ ।
सिन्धुलीगढी आफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । हरियाली डाँडाकाँडा, मनोरम दृश्य र शान्त वातावरणले यहाँ आउने पर्यटकलाई आकर्षित गर्छ। विशेषगरी आन्तरिक पर्यटकका लागि यो गन्तव्य इतिहास र प्रकृतिको संगम बनेको छ। काठमाडौं, हेटौंडा, जनकपुर जस्ता सहरबाट सहज पहुँच हुनुले पनि सिन्धुलीगढीको पर्यटकिय महत्व बढाएको छ ।
स्थानीय तह र सम्बन्धित निकायले पछिल्लो समय पूर्वाधार विकास, सूचना बोर्ड स्थापना, पदमार्ग सुधार र प्रवद्र्धनात्मक गतिविधिमा जोड दिँदै आएका छन्। यसले सिन्धुलीगढीलाई केवल ऐतिहासिक स्थल मात्र नभई शैक्षिक पर्यटन, सांस्कृतिक पर्यटन र अध्ययन भ्रमणको केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखिएको छ ।
स्थानीय व्यवसायीहरू पनि सिन्धुलीगढीमा बढ्दो पर्यटक आगमनबाट उत्साहित छन्। होटेल, खाजा घर, यातायात तथा स्थानीय उत्पादनको बजार विस्तार हुँदै गएको उनीहरूको भनाइ छ । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ भने रोजगारीका अवसरसमेत सिर्जना हुँदै गएका छन् ।
इतिहासको संरक्षण, देशभक्तिको सन्देश र पर्यटन प्रवद्र्धनलाई एकैसाथ अघि बढाउने उदाहरणका रूपमा सिन्धुलीगढी युद्ध संग्रहालय उभिएको छ । उचित संरक्षण, निरन्तर प्रचारप्रसार र दीगो योजना कार्यान्वयन गर्न सके सिन्धुलीगढी बागमती प्रदेशकै प्रमुख पर्यटकिय गन्तव्यका रूपमा अझ सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।