शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

समाजको मौनताले जलेकी बुहारी, सिन्धुली आक्रोशमा

शनिवार , पौष १२, २०८२

सिन्धुली ,१२ पुस – कमलामाई नगरपालिका–४ धुराफाँटमा भएको ३२ वर्षीया सुशीला बम्जनको विभत्स हत्या घटनाले सिन्धुलीलाई स्तब्ध बनाएको छ । आफ्नै घरभित्र सासू, ससुरा र नन्दबाट आगो लगाएर हत्या गरिनु केवल एक व्यक्तिको मृत्यु मात्र होइन, समाजमा गहिरिँदै गएको घरेलु हिंसा र महिलामाथिको अमानवीय व्यवहारको भयावह तस्वीर भएको स्थानीयको टिप्पणी छ ।

आइतबार दिउँसो सुशीलालाई कोठाभित्र थुनेर पेट्रोल छर्की आगजनी गरिएको थियो । घटनास्थलमै उनको ज्यान गयो । हत्यापछि पीडित परिवारले न्यायको माग गर्दै आन्दोलन थालेपछि सिन्धुली छ दिनदेखि तनावको अवस्थाबाट गुज्रिरहेको छ । मृतकका आफन्तले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउदेखि प्रदर्शनसम्म गरेका छन् ।

आन्दोलन चर्कँदै जाँदा बिहीबार सुशीलाको हत्या भएको घरमा तोडफोड र आगजनीको प्रयास भयो । घरबाट सामान झिक्न पुगेका आफन्तमाथि आक्रोशित भीडले आक्रमण गर्दा प्रहरीसहित १० जना घाइते भए । अवस्था नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले करिब १० घण्टा कफ्र्यु जारी गर्नुप¥यो । घटनाले शान्ति सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै शुक्रबार सर्वपक्षीय तथा सर्वदलीय बैठक बसेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतकका सासू मायारानी बम्जन र नन्द मीना लामा (बम्जन) विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । जलेर घाइते भएका ससुरा दुर्गामान बम्जन काठमाडौंस्थित वर्न अस्पतालमा प्रहरी निगरानीमा उपचाररत छन् । रोजगारका सिलसिलामा कोरियामा रहेका श्रीमान् सूर्य बम्जनलाई समेत घटनामा संलग्न रहेको आशंकामा नेपाल ल्याएर अनुसन्धान गर्नुपर्ने माग पीडित पक्षको छ । आरोपितलाई पक्राउ नगरेसम्म शव नबुझ्ने उनीहरूको अडान कायमै छ ।

यसबीच सिन्धुलीमा महिला हिंसाका घटना लगातार बढिरहेका छन् । तीनपाटन गाउँपालिकामा चार दिनदेखि एक महिला बेपत्ता हुनु र केही महिनाअघि अर्को महिलाको निर्मम हत्या हुनुका घटनाले जिल्लाको सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ। अधिकारकर्मीहरू भन्छन । जबसम्म घरेलु हिंसालाई सामान्य ठान्ने सामाजिक सोच बदलिँदैन, सुशीला बम्जनजस्ता घटना दोहोरिरहनेछन् ।

सुशीलाको मृत्यु अब एक परिवारको पीडा मात्र नभई, समाजले समयमै हस्तक्षेप नगर्दा ज्यान जान सक्ने यथार्थको कठोर चेतावनी बनेको छ ।

प्रतिक्रिया