शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लागुऔषधसहित दुई जना पक्राउ, सयौँ ट्याब्लेट र गाँजा बरामद

शुक्रवार , पौष ११, २०८२

सिन्धुली,११ पुस – सिन्धुलीको दुधौली नगरपालिकामा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियमित गस्तीका क्रममा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गर्दा विभिन्न किसिमका लागुऔषधजन्य ट्याब्लेट र गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

बिहिवार राति करिब ११ बजेर ५५ मिनेटको समयमा दुधौली नगरपालिका–५ स्थित फुटबल ग्राउण्ड नजिक कुलुवापुल क्षेत्रमा इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको े इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा खटिएको टोलीले नियमित गस्ती गर्दै जाने क्रममा दुई युवाको गतिविधि शंकास्पद देखिएपछि शरीर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा दुधौली नगरपालिका–५ बस्ने २६ वर्षीय सिताराम बुढाथोकीको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । बुढाथोकीको साथबाट कफ डि लेखिएको ४५ ट्याब्लेट, इएइ लेखिएको २०० ट्याब्लेट, स्पासमो लेखिएको २३१ ट्याब्लेट तथा ५०० ग्राम गाँजा फेला परेको छ । यस्तै, विभिन्न दरका नेपाली नोट गरी जम्मा २८ हजार ६ सय १६ रुपैयाँ नगद र एउटा पल्सर मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट कुल ४७६ वटा ट्याब्लेट र आधा किलो गाँजा फेला परेको हो ।

यस्तै, सोही स्थानबाट दुधौली नगरपालिका–५ कै २० वर्षीय मानबहादुर विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । विश्वकर्माको साथबाट कफ डि लेखिएको ४९ ट्याब्लेट, इएइ लेखिएको ९० ट्याब्लेट, लेखिएको स्पासमो ९० ट्याब्लेट तथा ३०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट कुल २२९ वटा ट्याब्लेट र ३०० ग्राम गाँजा फेला परेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाको संलग्नतामा लागुऔषध ओसारपसार तथा कारोबार हुनसक्ने आशंका गरिएको छ । बरामद लागुऔषध, नगद तथा सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद लिइएको र दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ । पछिल्लो समय सिन्धुली जिल्लामा लागुऔषधको कारोबार बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि गस्ती र निगरानीलाई थप कडा बनाइएको जनाएको छ ।

प्रतिक्रिया