सिन्धुली ११ पुस –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीले ११ औँ राष्ट्रिय महाधिवेशनबाट सिन्धुली भूगोलको प्रतिनिधित्व गर्दै निर्वाचित केन्द्रीय सदस्य तथा आयोग सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । शुक्रवार जिल्ला पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत पार्टीले नवनिर्वाचित केन्द्रिय सदस्यहरु क. र अनुशासन आयोग सदस्य क. रण कुमारी बलम्पाकी , घणेन्द्र श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको कामना गरेको हो ।
जिल्ला कमिटी अध्यक्ष महेन्द्र देब श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य निरु दर्लामी प्रमुख अतिथिका रूपमा सहभागी थिइन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दर्लामीले पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमा सिन्धुलीको योगदान उल्लेखनीय रहेको बताइन । उनले जिम्मेवारी प्राप्त गरेपछि अझ बढी अनुशासन, निष्ठा र जनउत्तरदायी भूमिकामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइन ।
कार्यक्रममा ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित प्रदीप कटुवाल, अनुशासन आयोग सदस्य रण कुमारी बलम्पाकी, . घणेन्द्र श्रेष्ठसाथै अन्य केन्द्रीय तथा जिल्ला तहका नेताहरूलाई खादा, फूलमाला र बधाई पत्र प्रदान गरिएको थियो । कार्यक्रममा क. घणेन्द्र श्रेष्ठ लगायत जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अध्यक्षीय मन्तव्य राख्दै जिल्ला कमिटी अध्यक्ष श्रेष्ठले महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र दिशा दिएको उल्लेख गरे । उनले सिन्धुलीबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नेताहरूले जिल्लाको विकास, संगठन विस्तार र जनसम्बन्ध सुदृढीकरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीले दिएको जिम्मेवारीलाई सामूहिक नेतृत्व र अनुशासनको मर्मअनुसार पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने र पार्टीका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा ध्यान केन्द्रित गर्ने बताएका थिए ।
जिल्ला कमिटीका अनुसार कार्यक्रम पार्टीको आन्तरिक संगठनात्मक गतिविधिअन्तर्गत आयोजना गरिएको हो । आगामी दिनमा पार्टीले संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा जनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।